• १२ मंसिर २०८२, शुक्रबार

एसइई नतिजा सुधार गर्न आवासीय कक्षा

blog

विद्यालयमा आवासीय भएपछि अध्ययनमा विद्यार्थी । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले 

चरीकोट, मसिर १२ गते । दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ ।

कक्षा १० का विद्यार्थीलाई केन्द्रमा राखी गाउँपालिकाभित्रका आठवटै माध्यमिक विद्यालयमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।

शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मङ्सिरको पहिलो हप्तादेखि नियमित कक्षा, अभ्यास परीक्षा तथा पुनरावृत्तिमूलक सिकाइ प्रक्रिया प्रभावकारी रूपमा चलिरहेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीको कमजोरी पहिचान गरी पुनरावृत्ति, अभ्यासमूलक सिकाइ र दैनिक मूल्याङ्कन कार्यलाई विद्यालयस्तरमै मजबुत बनाइएको छ । उपाध्यक्ष सुवेदीले आवासीय कार्यक्रम माध्यमिक तहको सिकाइस्तर सुधार गर्ने गाउँपालिकाको दीर्घकालीन लक्ष्यअनुरूप अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य केवल नतिजा सुधार मात्र होइन, विद्यार्थीको आधारभूत सिकाइ क्षमतामा स्थायी सुधार ल्याउनु पनि हो ।”

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले पालिकाले प्रतिविद्यार्थी १३ हजार रुपियाँ गाउँपालिकाले उपलब्ध गराउने बताउनुभयो । सो रकमबाट चार महिनासम्म विद्यार्थीका लागि खानपान, छात्रावास, अध्ययन सामग्रीलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइने छ । अध्ययनमै केन्द्रित वातावरण निर्माण गर्नु पालिकाको मुख्य उद्देश्य रहेको प्रमुख दर्जीले बताउनुभयो ।

शिक्षा शाखा प्रमुख गोविन्द डिसीले दैनिक अभ्यास, नियमित परीक्षण, कमजोरी पहिचान तथा अनुगमनको कारण विद्यार्थीको सिकाइस्तरमा उल्लेख्य सुधारको अपेक्षा गरिएको बताउनुभयो ।

गाउँपालिकाले शिक्षक उपस्थिति, विद्यार्थीको सिकाइ प्रगति, अनुशासन र प्रेरणासहित सबै पक्षको नियमित अनुगमन गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक स्रोत तथा प्रविधिको व्यवस्थापन सुदृढ गरिने जनाएको छ ।