• १२ मंसिर २०८२, शुक्रबार

विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

blog

काठमाडौँ, मङ्सिर १२ गते । विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको अवकाश भएपछि गत साउनदेखि कलेजाे प्रत्यारोपण रोकिएको जानकारी दिनुभयो । वि.सं.२०७३ देखि केन्द्रमा कलेज प्रत्यारोपण हुँदै आएको थियो । “कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा एक जना मात्र विशेषज्ञ चिकित्सक डा. श्रेष्ठ हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँको अवकाश भएपछि अहिले कोही पनि सर्जन हुनुहुन्न । त्यही भएर हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ ।”

निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपण रोकिएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई पनि गराइसकेको बताउनुभयो । “विभागीय मन्त्रालयसहित मन्त्रीलाई पनि हामीले कलेजो प्रत्यारोपण सेवा विशेषज्ञको अभावले रोकिएको जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “मन्त्री र सचिवले यस विषयलाई गम्भीरताका साथ लिँदै विशेषज्ञको खोजी गरिरहेको जनाउनुभएको छ ।”

निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपण विशेषज्ञ को खोजी भइरहे पनि अहिलेसम्म सेवा सञ्चालन भने गर्न नसकिएको बताउनुभयो । यसअघि केन्द्रबाट ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । केन्द्रमा पहिले विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिँदै आइए पनि अहिले नेपालका दक्ष जनशक्तिबाट सेवा प्रवाह हुँदै आएको थियो । नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा पनि हुने गरेको छ । रासस