दमास्कस (सिरिया), मङ्सिर १० गते । दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।
स्थानीय अधिकारीका अनुसार धेरै पीडित भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् । इजरायली कारबाहीमा छ जना सिरियाली सैनिक घाइते भएका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा लेबनानी इस्लामवादी समूह जामा इस्लामियाका संन्दिग्धलाई नियन्त्रणमा लिन चलाइएको विशेष अपरेसनका क्रममा रातारात कम्तीमा छ जना आफ्ना सैनिक घाइते भएको जनाएको छ ।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सेनाले उक्त समूहले दक्षिणी सिरियामा बसेर इजरायली नागरिकविरुद्ध हमला गर्ने तयारी गरिरहेको आरोप लगाएको छ । स्थानीय अधिकारी अब्दुल रहमान अल-हम्रावीलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारी अनुसार, इजरायली सैनिकले बेइट जिनमा तीन जना युवकलाई पक्राउ गर्न छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको थियो ।
झडपपछि इजरायली सेनाले तोपखाना र ड्रोन प्रयोग गर्दै गाउँ वरपर गोलाबारी गरेको बताइएको छ । डिसेम्बर २०२४ मा सिरियाली नेता बशर अल-असदको पतन र दमास्कसमा नयाँ इस्लामवादी नेतृत्व आएपछि इजरायलले सिरियाभित्र सयौँ सैन्य कारबाही गरिरहेको सरकारी स्रोतले जनाएको छ । रासस/एएफपी