• १२ मंसिर २०८२, शुक्रबार

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो

blog

मेडन (इन्डोनेसिया), मङसिर १२ गते । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् ।

इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसकोे मृत्यु भएको छ । उत्तरी सुमात्रामा शुक्रबारसम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताउनुभएको छ । 

बाढीका कारण वेपत्ता भएका कम्तीमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारी “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताउनुभएको छ । उत्तरी सुमात्रामा, केही क्षेत्रमा सञ्चारको पहुँच विच्छेद भएको उहाँले बताउनुभएको छ । 

सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उहाँले बताउनुभएको छ । पश्चिम सुमात्रामा स्थानीय विपद एजेन्सीका प्रमुख अब्दुल मलिकलाई उदृत गर्दै २२ जनाको मृत्यु भएको र १२ जनाको खोजी भइरहेको एएफपीले जनाएको छ । भारी वर्षाले इन्डोनेसियाको पश्चिमी प्रान्त आचेमा पनि बाढी र पहिरो आउँदा लगभग एक हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय विपद् एजेन्सीले जनाएको छ ।

एएफपीका अनुसार प्रान्तका केही भागमा बिजुली सेवासमेत बन्द गरिएको छ । बिजुली कम्पनी पेरुसाहान लिस्ट्रिक नेगाराले यस हप्ताको सुरुमा आकस्मिक बाढीले प्रसारण टावरलाई प्रभावित गराएपछि बिस्तारै बिजुली आपूर्ति पुनःस्थापना गर्न कर्मचारी तैनाथ गरेको बताएको छ ।  

मौसमी वर्षाले थाइल्यान्डका केही भाग डुबानमा पारेको र दर्जनौँको मृत्यु भएको छ । मलेसियामा पनि बाढीले र कम्तीमा दुई जनाको मृत्यु भएको जनाइएको छ । मध्य जाभामा भारी वर्षाका कारण आएको पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु हुनुका साथै करिब १३ जना अझै बेपत्ता भएको जनाइएको छ । रासस/एएफपी