रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १२ गते । गुल्मीको सत्यवती गाउँपालिका –५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा ज्ञान महायज्ञ सञ्चालन गरिनेभएको छ । क्याम्पसको समग्र विकासका लागि मङ्सिर १८ गतेदेखि २५ गतेसम्म राष्ट्रकल्याण एवं बिश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सञ्चालन हुन लागेको हो ।
तत्कालीन सत्यवती माध्यमिक विद्यालय जनसमुदायकै सहयोगमा २०७० मा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पस सत्यवती क्षेत्रको एकमात्र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो ।
यहाँ अहिले मानविकी र व्यवस्थापन संकाय अध्यापन हुने गरेको छ । क्याम्पसमा हाल ९२ जना विद्यार्थी मात्र अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन साथै आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन हुने प्रचारप्रसार समिति संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
महायज्ञमा अन्नदान र नगद रकम सहयोग गर्न सकिनेछ । जसले जति सक्छ त्यति सहयोग गर्न सकिने ज्ञान महायज्ञमा सहयोग रकम अनुसारका विभिन्न सम्मानक कार्यक्रम राखिएको छ । महायज्ञबाट करिब तीन करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको छ ।
शिक्षा संकायको स्वीकृति पाउने चरणमा रहेको यस क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न, आर्थिक विकास र भौतिक पूर्वाधारलाई सबल बनाउन, आवासीय छात्रावासको व्यवस्था गर्न, आधुनिक पुस्तकालय निर्माण गर्न, विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न र नीतिचेतना, आदर्श धर्म र संस्कारमा आधारित समयसापेक्ष संस्कृत शिक्षाको व्यवस्थापनमा पहल गर्न ज्ञानमहायज्ञ गर्न लागिएको क्याम्पस प्रमुख विकास ढकालले बताउनुभयो ।
उहाँका अनुसार विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएर शिक्षाबाट वञ्चित नहुने वातावरण बनाउने योजना छ । महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, विविध मन्त्रजप, शतचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनामादि र पाठ–पारायणहरु हुनुका साथै भजनकीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन, पहिलो दिन पूर्वाङ्ग, शोभायात्रा, उद्घाटन र मौलो पूजापछि औपचारिक श्रीमद्भागवत चल्नेछ । अन्तिम दिन यज्ञपूर्णाहुति र समापन कार्यक्रम हुनेभएको हो ।