• १२ मंसिर २०८२, शुक्रबार

बेनी–पाखापानी सडकमा कालोपत्र सुरु

blog

सडक कालोपत्रे गरिँदै । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), मङ्सिर १२ गते । सदरमुकाम बेनीसँग ग्रामीण भेग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका –९ किरोखोरदेखि नेप्टेचौर खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजना अन्तर्गत बेनी नगरपालिका –९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म करिब दुई किलोमिटर दूरीमा कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

निर्माण व्यवसायीले सडक फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण, सबबेस, बेस राख्ने काम सकेर कालोपत्रेको तयारी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सवइन्जिनियर रविन चोखालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “किराखोरदेखि नेप्टेचौर हुँदै तोरीपानीसम्मको चार किलोमिटर दूरीको स्तरोन्नतिका लागि सञ्चालित योजनाअन्तर्गत पहिलो चरणमा स्ट्रक्चर तयार भएको किराखोर–नेप्टेचौरखण्डमा कालोपत्र गर्न लागिएको हो ।’’

तीन दशमलब पाँच मिटर चौडा सडकलाई कम्तिमा सात मिटर फराकिलो बनाइएको छ । बेनी नगरपालिकाको वडा ९ र १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकता प्राप्त आयोजना घोषणा गरिएको छ ।

यो सडक योजना निर्माणका लागि वि.स. २०८१ जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्स्ट्रक्सनले १० करोड १६ लाख एक हजार तीनसय ६४ मा ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ७० प्रतिशत भौतिक प्रगति भएको कार्यालयका सवइञ्जिनियर  चोखालले बताउनुभयो ।