• १२ मंसिर २०८२, शुक्रबार

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बाजुरासहित जिल्लामा बढ्यो सक्रियता

blog

सन्तोषी रावल
बाजुरा, मङ्सिर १२  गते ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ । विभिन्न जिल्लामा सुरु भएको जिल्ला–स्तरीय निर्वाचन कार्यसूचीअनुसार बाजुरामा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक तयारीहरू अघि बढाइएको स्थानीय स्रोतले जनाएको छ ।

प्रतिनिधि छनोट यही मङ्सिर १३ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता प्रक्रियासम्मका पूर्वतयारीहरू तीव्र गतिमा चलिरहेका छन् ।

पार्टी निर्देशिका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची सार्वजनिक नगरी प्रतिनिधि छनोट प्रक्रियामा प्रवेश गर्न नपाइने भएकाले हाल सबै जिल्लामा मतदाता सूची फाइनत गर्दा गरिँदैछ । मङ्सिर १२ गतेसम्म सर्वसम्मतिका आधारमा उम्मेदवार टुङ्ग्याउने प्रयास भइरहेको र सहमति नजुटेमा भोलिपल्ट निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम मङ्सिर १५ गतेभित्र सम्बन्धित विभागमा बुझाइसक्नुपर्ने व्यवस्था छ । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आयोजक, क्षेत्रीय कमिटी, जनसङ्गठन, युवा, महिला, दलित, प्रवाससहित विभिन्न संरचनाबाट करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने पार्टीले बताएको छ ।