गुल्मी समाचारदाता
गुल्मी, मङ्सिर १२ गते । ट्राफिक नियम उल्लङ्घन गरेका कारण गुल्मीमा ९५१ सवारीसाधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म जिल्लामा ९५१ सवारीसाधन कारबाहीबाट नौ लाख २८ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार गुल्मीमा विशेष गरी ट्रक, बस, कार, जिप, ट्याक्टर, मोटरसाइकललगायतका सवारीसाधन कारबाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लङ्घन गर्ने, तीव्र गतिमा सवारीसाधन चलाउने, सवारीचालक अनुमतिपत्र नलिई सवारीसाधन चलाउने, मापसे गरी सवारीसाधन चलाउने चालक र विभिन्न सवारीसाधन कारबाहीमा परेका हुन् । उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म १९७ ट्रक लाई कारबाही गर्दा एक लाख ९८ हजार पाँच सय रुपियाँ, १३ बसबाट १३ हजार, ३२८ कार/जिपबाट, दुई लाख ८२ हजार पाँच सय रुपियाँ असुल भएको छ । चालु आर्थिक वर्षको चार महिनामा सवारीसाधन दुर्घटना हुँदा पाँच जना पुरुषको मृत्यु भएको छ । उहाँले दुर्घटनामा परी एक महिला र एक पुरुष शक्त घाइते र १४ महिला, २७ पुरुष, सात बालबालिका सामान्य घाइते भएका जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरण प्रशिक्षण
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटनालाई न्यूनीकरणसम्बन्धी विभिन्न समयमा चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षणसँगै सवारी जाँचलाई कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक दुर्घटनालाई हेरेर ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनका लागि विभिन्न प्रशिक्षण कार्यक्रम गर्नुका साथै चालकको स्वास्थ्य परीक्षण र विद्यालय कार्यक्रम गरिएको हो ।