• १२ मंसिर २०८२, शुक्रबार

आजदेखि पृथ्वीराजमार्ग पूर्ण रूपमा खुला : स्तरोन्नति कार्यसँगै यात्रा सहज

blog

विजयपुर खोलामा ‘ग्रीडर लन्चिङ’ राख्ने क्रममा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १२ गते ।
पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै आजदेखि मुग्लिन–पोखरा खण्डमा कुनै पनि प्रकारको यातायात अवरोध हटेको छ । मङ्सिर ६ देखि ११ गतेसम्म गरी छ  दिन बिहान र दिउँसो गरी चार घण्टासम्म गर्नुपरेको सडक बन्द अब आवश्यक नपर्ने भएको हो ।

मुख्य यातायात मार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था हटेपछि यात्रु तथा चालक दुवैलाई सहज यात्राको अनुभूति भएको छ । आयोजनाले  पुलसम्बन्धी प्राथमिक कार्य पूरा भएसँगै राजमार्ग पूर्ववत् सुचारु भएको जनाएको छ ।

मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेख्य प्रगति गरेको छ । ३८ किमि मध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भएपछि यात्रामा सहजता थपिएको छ । धेरै स्थानमा कालोपत्रे दोस्रो तहसम्म सम्पन्न भइसकेकाले यात्रा सुगम बन्दै गएको स्थानीयको प्रतिक्रिया छ । योजनाअन्तर्गत सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा अगाडि बढिरहेका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीमा निर्माण भइरहेको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति गरेको छ ।

दैनिक करिब छ सय मजदुर खटिने यस क्षेत्रमा मासिक झन्डै १८ हजार मजदुरले रोजगारी पाउने गरी काम भइरहेको छ । कुल भौतिक प्रगति ५९ प्रतिशत नाघेको आयोजनाले इन्जिनियर सहनशिला कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय स्थानमा संरचना सार्ने प्रक्रिया, रुख कटानी र निजी घर हटाउने विषयमा ढिलाइ भएपछि केही काम प्रभावित भए पनि समग्र प्रगति निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको योजना कार्यालयको भनाइ छ ।

अवरोध हटेसँगै यात्रुहरूले सहज, छरितो र सुरक्षित राजमार्गको अनुभव गर्न थालेका छन् । नजिकिएको म्यादभित्र स्तरोन्नति कार्य सम्पन्न भई आधुनिक मानकअनुसारको राजमार्ग सार्वजनिक हुने अपेक्षा गरिएको छ ।