• १२ मंसिर २०८२, शुक्रबार

औषधी व्यवस्था विभाग

कार्यक्षेत्र बढ्यो, बढेन जनशक्ति

blog

सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर १२ गते । औषधी व्यवस्था विभागको कार्यक्षेत्र बढिरहेको छ तर सीमित कर्मचारी र स्रोतसाधनले गर्दा विभागले दिने सेवा प्रभावित हुन पुगेको छ । 

विभागमा कार्यरत कर्मचारीमध्ये ६० प्रतिशत कर्मचारी दैनिक कार्यालय आउने गर्छन् । बाँकी ४० प्रतिशत कर्मचारी बिदामा हुन्छन् । विभागले हाल औषधी उद्योग, लाइसेन्स वितरण, विदेशी औषधी कम्पनी निरीक्षण, नेपाली औषधी कम्पनीको निरीक्षण, क्लिनिकल ट्रायललगायत काम गर्दै आएको छ । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कर्मचारी अत्यन्त न्यून हुँदा विभागलाई काम गर्न कठिन भएको जानकारी दिनुभयो । 

औषधी उद्योग बढेका छन्, तिनीहरूलाई लाइसेन्स दिनेदेखि निरीक्षण गर्ने, क्लिनिकल ट्रायलजस्ता विषयवस्तु बढिरहेको छ, महानिर्देशक ढकालले भन्नुभयो, “विभागको कार्यक्षेत्र बढ्यो तर कर्मचारीको सङ्ख्या बढ्न नसक्दा सेवा प्रभावित हुन पुगेको छ ।”

लाइसेन्स दिनेको सङ्ख्या बढेको छ, अन्तर्राष्ट्रिय कम्पनी बढेका छन् तर त्यस अनुसार जनशक्ति बढ्न नसक्दा विभागले सीमित जनशक्ति र स्रोतसाधनमा काम गर्न बाध्य भएको छ । महानिर्देशक ढकालले क्लिनिकल ट्रायल राम्रोसँग हेर्न नसकेको प्रस्ट पार्दै प्रयोगशालाको सीमितताले गर्दा अप्ठ्यारो परेको जानकारी गराउनुभयो । 

महानिर्देशक ढकालले औषधी व्यवस्था विभागमा कर्मचारी रित्तिँदै गएको जानकारी दिँदै हाल विभागमा भएका कर्मचारी बिदामा बस्दा दैनिक कामकाजमा समेत समस्या परेको बताउनुभयो । महानिर्देशक ढकालका अनुसार विभागमा प्राविधिक र प्रशासनिक गरी ४९ जना कर्मचारी छन् । तीमध्ये ४० प्रतिशत बिदामै हुन्छन्, महानिर्देशक ढकालले भन्नुभयो, “अहिले विभागमा दैनिक काम गर्न कठिनाइ भइरहेको छ ।” 

महानिर्देशक ढकालले २० जना कर्मचारी प्रशासनिक र बाँकी २९ जना प्राविधिक कर्मचारी रहेको जानकारी दिँदै तीमध्ये ६० प्रतिशत कर्मचारी बिदामा बस्दा ठुलो समस्या भएको बताउनुभयो । 

ढकालले कर्मचारी घर बिदा, अध्ययन बिदा, सुत्केरी बिदा, भैपरीलगायत बिदामा बस्दा समस्या भएको बताउनुभयो । हाल देशभरका ३५ हजार औषधी पसल विभागमा दर्ता भएका छन् । यीबाहेक विभागमा दर्ता नभएका फार्मेसीको सङ्ख्या धेरै छ ।

विभागका महानिर्देशक ढकालले फार्मेसी, औषधी उद्योग, दर्ता, नवीकरणलगायतका काम लिएर आउनेलाई सहजै काम गरिदिन पनि कठिन भएको बताउनुभयो । ४९ जनाको भरमा औषधी विभाग चलेको छ भन्दै उहाँले तीमध्ये पनि ४० प्रतिशत बिदामा रहँदा धेरै मुस्किल झेल्नु परेको गुनासो गर्नुभयो । 

महानिर्देशक ढकालले विभाग अझै पनि पुरानो दरबन्दीमा चल्दै आएको बताउनुभयो । उहाँले विभाग ३२ वर्षअगाडिको संरचनामा चल्न नसक्ने भन्दै जनशक्ति अभावले गर्दा ठुलो समस्या झेल्नु परेको बताउनुभयो । ढकालले औषधी मानिसको स्वास्थ्यसँग जोडिएको हुनाले जनशक्तिबिना काम गर्न कठिन भएको बताउनुभयो । 

हाल औषधी व्यवस्था विभागमा पाँच सय जनशक्ति आवश्यक रहेको भन्दै ५९ जनाले औषधीको क्षेत्र धानिरहेको बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. देवकोटाले स्वास्थ्य क्षेत्रमा अझै तीन दशकअगाडिको दरबन्दी रहेकाले समस्या हुने गरेको जानकारी दिनुभयो । उहाँले औषधी व्यवस्था विभागमा मात्र होइन, समग्र स्वास्थ्य क्षेत्रमा कम दरबन्दी रहेको बताउनुभयो । ३२ वर्षअघिको जनसङ्ख्याको मापन गरेर कायम गरेको दरबन्दीले काम गर्नुपर्ने अहिलेको बाध्यता रहेको सचिव डा. देवकोटाको तर्क छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रक्षेपण अनुसार स्वास्थ्य क्षेत्रमा ९३ हजार जनशक्ति आवश्यक रहेको छ ।