प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १२ गते । जाजरकोट केन्द्रबिन्दु भएको विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका अधिकांश भूकम्पपीडितले अझै पहिलो किस्ताको राहत रकम पाएका छैनन् । यहीबिच दार्मा गाउँपालिकामा भने ढिलो भए पनि विस्तृत क्षति आँकलन को काम औपचारिक रूपमा सुरु गरिएको छ ।
दार्मा गाउँपालिका–२ लिरापाजामा टेकबहादुर केसी–सीता केसीको घरबाट क्षति मूल्याङ्कन कार्य सुरू भएको हो । गाउँपालिका भित्रका चार हजार ८१ घरधुरीको विस्तृत क्षतिको मूल्याङ्कन गरिनेछ । यसका लागि गाउँपालिकाका इन्जिनियरसहित ६ वटै वडाका प्राविधिकलाई यही मङ्सिर ८ र ९ गते तालिम दिइसकिएको छ ।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भन्नुभयो, “ढिलै भए पनि विस्तृत क्षति मूल्याङ्कनको काम अघि बढ्नु सकारात्मक पक्ष हो ।” उहाँले यसले पुनर्निर्माण प्रक्रियामा गतिशीलता आउने विश्वास व्यक्त गर्नुभयो । तर उहाँका अनुसार पुनर्निर्माण कार्यमा ढिलाइका कारण भूकम्पपीडितहरू अझै अस्थायी आवासमै बस्न बाध्य छन् ।
पहिलो किस्ताको रकम नपाएकाहरूको सङ्ख्या अझै ठुलो
सल्यानमा पहिचान भएका चार हजार ३६४ लाभग्राहीमध्ये दार्मा गाउँपालिकाका १हजार ६९२ जनाले पहिलो किस्ता पाएका छैनन् । गाउँपालिकाका अनुसार भूकम्पपीडितका रूपमा चार हजार ७४ घरपरिवार विपद् पोर्टलमा दर्ता भए पनि हालसम्म दुई हजार ३८२ जनाले मात्र पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।
अध्यक्ष केसीका अनुसार पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ता कुरिरहेका सबै परिवारका लागि करिब १४ करोड २३ लाख रुपियाँ आवश्यक पर्नेछ ।
२०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सल्यानमा सबैभन्दा धेरै दार्मा गाउँपालिका क्षतिग्रस्त भएको थियो । अन्य स्थानीय तहमा बागचौरमा १५४, कुमाखमा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
राहत वितरणमा ढिलाइ, पीडित अझै जोखिममा
सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार पहिलो तथा दोस्रो किस्ता नपाएका लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागमा पत्राचार गरिएको छ ।
तर राहत वितरणमा भइरहेको ढिलाइका कारण धेरै पीडितहरू आज पनि चर्किएका घर वा अस्थायी टहरामा बस्दै आएका छन् । वर्षा, गर्मी र जाडोमा उनीहरू स्वास्थ्य जोखिममा परेको स्थानीयवासीहरूले बताएका छन् । दार्मा–३ का मोहन केसीले “दुई वर्ष बितिसक्दा पनि प्रभावितका लागि काम भएन । अहिले पनि धेरै परिवार टहरामै बस्न बाध्य भएको बताउनुभयो । उहाँ जस्तै दार्मा–५ की धनी केसीका दुई घर भूकम्पले भत्किएको थियो । उहाँ पनि अस्थायी टहरामै बस्नुभएको छ । “सरकारले रकम उपलब्ध गराएपछि राम्रो घर बनाउँछु भन्ने आशा थियो । तर आजसम्म पनि रकम पाएनौं ।” उहाँले बताउनुभयो ।
यस्तै, दार्मा–२ का टेकबहादुर केसीले भूकम्पअघि ऋण लिएर घर निर्माण गर्नुभएको थियो । भूकम्पले घर भत्काएपछि अहिले अस्थायी आवासमै परिवारसहित बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारी सहयोग विना पक्की घर बनाउनु सपना मात्रै हो । सहयोगको आशा गरेर बसेका छौं ।”
भूकम्पपछि राहत र पुनर्निर्माण कार्य सुरु हुन ढिलाइ हुँदा दार्मा गाउँपालिकाका हजारौं प्रभावित अझै पनि असुरक्षित अवस्थामा बस्न बाध्य छन् । विस्तृत क्षति मूल्याङ्कन सुरु भए पनि राहत–किस्ता वितरण र पुनर्निर्माणलाई द्रुत गतिमा अघि नबढाइयो भने पीडितको दैनिक जीवन थप कठिन हुने स्थानीयवासीहरूको चिन्ता छ ।