• १२ मंसिर २०८२, शुक्रबार

अवैध कार्यमा संलग्न ३१ सवारीसाधन र मेसिन नियन्त्रण

blog

प्रहरीले नियन्त्रणमा लिएको अवैध उत्खननमा संलग्न ब्याक हो लोडर । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, मङ्सिर १२ गते ।
सल्यानमा ठुलो सङ्ख्यामा अवैध यात्रु ओसारपसार र अवैध उत्खननमा संलग्न सवारीसाधनहरु नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अवैध गतिविधिविरुद्ध कडाइ गर्दै ३१ वटा सवारीसाधन तथा मेसिनहरु नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय सितलपाटी, लुहाम, देवस्थल, अस्थायी प्रहरी पोस्ट बालुवा र बाबियाचौरबाट प्रहरी टोली खटिएको थियो । टोलीले रातो नम्बर प्लेट भएका बिद्युतीय गाडी (ईभी), जिप, डबल क्याब र डोजर गरी ३१वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरुमा ईभी १३, जिप ८, डबल क्याब ८ र दुई वटा ठुला मेसिन रहेका छन् । यी सबै सवारीसाधन र मेसिन यात्रु ओसारपसारका नियम उल्लङ्घन गरी चलाइएको तथा अबैध उत्खननमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

शाखाका अनुसार जिल्लामा अवैध उत्खनन रोक्न गरिएको अनुगमनका क्रममा दुई वटा ठुला मेसिन र दुई जना चालक पनि पक्राउ परेका हुन् । शारदा नगरपालिका–१ रेशमज्युलास्थित शारदा नदीमा रा १ क १३६७ नम्बरको ब्याक हो लोडर प्रयोग गरी उत्खनन् भइरहेको थियो । चालक २८ वर्षीय सेतिलाल डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, सिद्धकुमाख गाउँपालिका–१ मोख्ला क्षेत्रमा बा १ क ५४३२ नम्बरको स्काभेटरले उत्खनन् गर्दै गरेको पाइएपछि स्काभेटर चालक २३ वर्षीय ललित खड्कालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा रहेका सवारी साधन तथा चालकहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।