• १२ मंसिर २०८२, शुक्रबार

तेस्रो संस्करणको ‘मेयर कप’ फुटबलको ट्रफी अनावरण

blog

मेयर कप फुटबलको ट्रफी अनावरण गर्नुहुँदै नगरप्रमुख बसन्तकुमार श्रेष्ठ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १२ गते ।
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ट्रफी अनावरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले बागलुङकै प्रतिष्ठित फुटबल प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा प्रतिभा पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘‘प्रतियोगिताले खेलाडिको क्षमता उजागार हुनुका साथै नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि प्रभावकारी भूमिका खेल्ने छ’’ श्रेष्ठले भन्नुभयो । कतिपय खेलाडीहरुमा खेलकौशल भए पनि अवसर नपाउँदा उनीहरुको प्रतिभा उजागार हुन नसकेको बताउँदै श्रेष्ठले मेयर कप फुटबललाई हरेक वर्ष निरन्तरता दिएर सक्षम खेलाडि उत्पादन लाग्ने बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा हुने चरणमा रहेको प्रतियोगिता संयोजक सुदीप गौतमले जानकारी दिनुभयो । नगरपालिका स्तरीय प्रतियोगितामा दुई विभागिय टोली नेपाल प्रहरी र सेनाको दुई टोलीसहित दस टोलीले सहभागी जनाउने गौतमले बताउनुभयो ।

प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टोलीले सहभागिता जनाउने छन् । खेलमा उदयपुरको कटारी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, बागलुङको जैमिनी, गलकोट, पर्वतको जलजला र पैयुँ गाउँपालिकासहित विभागिय टोली नेपाली सेनाको कालिजंग गण घोडाबाँधे र गण्डकी प्रदेश प्रहरीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता टोलीलाई तीन लाख ३३ हजार तीन सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । उपविजेतालाई दुई लाख दुई हजार दुई सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको ‘मेयर कप’ फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः गर्नेगरी तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।