कोकिला ढकाल
इलाम, मङ्सिर १२ गते । नेपाली अर्थोडक्स चियाका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको अर्गानिक प्रमाणीकरणमा लाग्ने वार्षिक शुल्क चिया उत्पादकका ठुलो समस्या बन्न थालेको छ । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाका लागि अनिवार्य रहेको अर्गानिक प्रमाणीकरणको प्रक्रिया त्यसै पनि झन्झटिलो रहेको गुनासो छ ।
नेपालमै अर्गानिक प्रमाणीकरण नहुने कारणले नेपाली चिया किसान र उद्योगीले वार्षिक ठुलो रकम विदेशी संस्थालाई बुझाउनु परेको चिया उत्पादक बताउँछन् । अहिलेसम्म नेपालमा प्रमाणीकरणका नासा, सरेस, आइओएमलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूबाट नेपाली चिया अर्गानिक प्रमाणीकरण हुँदै आएको छ ।
“हाम्रो चिया जाने तेस्रो मुलुकमै हो । त्यसका लागि प्रमाणीकरण पनि अनिवार्य नै हुन्छ । प्रमाणीकरण नवीकरणको प्रमाणपत्र नभए विदेशी व्यापारीले प्रश्न उठाउँछन्,” इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले भन्नुभयो, “तर प्रमाणीकरण गर्नै वार्षिक सात/आठ लाख रुपियाँ खर्च हुन्छ ।”
उहाँका अनुसार प्रमाणीकरण वार्षिक नवीकरण पनि गरिरहनु पर्छ । नवीकरण गराउन पुनः आवेदन दिएर सम्बन्धित संस्थाबाट चियाको बोटमा के प्रयोग गरिन्छ भन्ने निगरानी गर्न कर्मचारी आउने गरेका छन् । तिनीहरूले चियाको बोटदेखिको रिपोर्ट लिएर फर्किएपछि मात्र नवीकरण हुन्छ ।
इलाम जसबिरेका चिया उत्पादक शरद सुब्बा प्रमाणीकरण र नवीकरणको काम किसान र उद्योगीका लागि धेरै आर्थिक बोझयुक्त रहेको बताउनुहुन्छ । नेपालकै ‘बेस्ट टी मेकर’ सुब्बा बर्र्सौंदेखि अर्गानिक उत्पादन गरिरहेकै भए पनि पहिला प्रमाणीकरण भइसकेका बगान पुनः नवीकरणमा पनि जानुपर्नै बाध्यताले साना किसानलाई समेत समस्या भएको बताउनुहुन्छ ।
विदेशीले अर्गानिक चिया नै रुचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योग आफैँले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् । कम्तीमा तीन/चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् । प्रमाणीकरणका लागि सम्बन्धित संस्थामा निवेदन दिएपछि तीन वर्षसम्म निरन्तर अनुगमनको खर्च किसान आफैँले बेहोर्नु पर्छ । राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिकको विकल्प पनि नभएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । देशभरका चिया उद्योगीको संस्था सूूर्योदय अर्थोडक्स टी प्रोड्युुसर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहनुुभएका चिया उद्योगी उत्तमकुमार श्रेष्ठ पनि अर्गानिक उत्पादन नै नेपाली चियाको भविष्य भए पनि नेपालमै अर्गानिक प्रमाणीकरण नहुँदा समस्या भएको बताउनुुहुन्छ ।
“सरकारले विभिन्न क्षेत्रमा करोडौँ खर्चन्छ, कृषिमै पनि धेरै खर्च गरेको छ तर चियाका लागि केही गरेको छैन,” श्रेष्ठले भन्नुभयो “साना चिया किसानसम्मको कार्यक्रम नभए पनि बर्सेनि करोडौँ रुपियाँ विदेशी मुद्रा भित्र्याउने चियाका लागि देशभित्रै अर्गानिक प्रमाणीकरणका लागि एउटा ल्याब मात्र राखिदिए राम्रो हुने थियो ।”
अहिलेसम्म इलामका साँखेजुङस्थित साङ्ग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टी स्टेट, माईपोखरीको सन्दकपुर चिया कारखाना, जसबिरे चिया कारखाना, देउमाईको ब्रदर्स चिया उद्योगले विदेशी संस्था नासा, आइओएम र सेरेसबाट अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् । यस्तै साँखेजुङको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेट अन्तर्गत सुन्दरपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गरिसकेका छन् । साँखेजुङको ग्रिनहिल, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जितपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणीकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आइओएमबाट अर्गानिक प्रमाणीकरण गराएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।
अर्गानिक उत्पादन गर्ने चिया किसानलाई यी उद्योग र सहकारीले हरियो पत्तीको मूल्य पनि बर्सैभर राम्रो दिने गरेको बताइएको छ । किसानबाट खरिद भएको हरियो पत्तीबाट ग्रिन टी, गोल्डेन टी, ह्वाइट टी, ओलङ टी, गोल्डेन पल, गोल्डेन रिङ गरी विभिन्न प्रकार र स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराउने गरेको वेस्ट टी मेकर शरद सुब्बाको भनाइ छ ।