• १२ मंसिर २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग

blog

गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीको टोली ।

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर १२ गते । सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसहित गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । भैरहवामै आयोजित कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेलगायतका विभिन्न माग राखेको हो ।

सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीका अनुसार विमानस्थलको अध्यागमन कार्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम स्वीकृति कार्यालयलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउने, गाम्का तथा स्वास्थ्य परीक्षण कार्यालय स्थापना गर्ने, भिसा सेन्टर भैरहवाबाट सञ्चालन गर्ने र मेनपावर कम्पनीलाई सहज रूपमा स्वीकृति दिने जस्ता माग छन् ।

यस्तै सङ्घीय मन्त्रीपरिषद्ले गरेको प्रतिबद्धता अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईजहाजलाई प्रदान गरिने सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने सञ्जालको आग्रह छ । साथै भैरहवाबाट अन्तरप्रदेश आन्तरिक उडान बढाउने, भारत तथा तेस्रो मुलुकमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने, नेपाली वायु सेवा तथा बौद्ध मुलुकका बजेट एयरलाइन भैरहवादेखि नै सञ्चालन गर्ने माग पनि गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई भैरहवाबाट नै उडान सुविधा उपलब्ध गराउनुपर्ने, नेपाल वायु सेवा निगमले भैरहवाबाट नियमित टिकट बिक्री र उडान सुरु गर्नुपर्ने, कार्गो सेवा सञ्चालन गर्नुपर्ने तथा नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज भैरहवामै राखी दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ ।

पर्यटकलाई सहज सेवा उपलब्ध गराउन अनलाइन ई भिसा, डिजिटल बैङ्किङ तथा क्युआर भुक्तानी सेवा अध्यागमन कार्यालयबाट उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । सञ्जालले बेलहिया नाकामा पर्यटक सवारीसाधनमा लगाइएको आरटिओ कर प्रदेश सरकारले बजेटमार्फत हटाए पनि अझै असुली भइरहेकाले तत्काल खारेज गर्न माग गरेको छ ।

त्यस्तै लुम्बिनी विकास कोष अन्तर्गत दातृ राष्ट्रको सहयोगमा प्राप्त विद्युतीय सवारीसाधन छ महिना बित्दासम्म पनि नियमित सञ्चालनमा नआएकाले तत्काल सञ्चालनमा ल्याउन अनुरोध गरिएको छ । त्यस्तै सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग पनि सञ्जालले राखेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।