• ११ मंसिर २०८२, बिहिबार

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकारलाई रिहा

blog

इस्तानबुल, मङ्सिर ११ गते । टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार जना पत्रकारलाई रिहा गरेको छ । उनीहरूलाई गत मार्चमा इस्तानबुलमा सामूहिक प्रदर्शनको आरोपमा मुद्दा चलाइएको थियो ।  

राष्ट्रपति रेसेप तैयप एर्दोगनका शीर्ष प्रतिद्वन्द्वी इस्तानबुलका शक्तिशाली विपक्षी मेयर एक्रेम इमामोग्लुको गिरफ्तारीबाट भड्किएको विरोध प्रदर्शनमा चारजना फोटोग्राफरलाई पक्राउ गरिएको थियो । उनीहरूलाई हजारौँ प्रदर्शनकारी जस्तै-प्रदर्शन र सार्वजनिक जमघटमा कानुन उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।

प्रतिवादीले कथित अपराध गरेको कुनै ठोस आधार नभएकाले न्यायाधीशले निर्दोष ठहर गरी रिहा गरिएको जनाइएको छ । अकगुल अन्तर्राष्ट्रिय मिडिया कर्मी हुनुहुन्छ भने अन्य तिन टर्कीको नाउ हेबरका अली ओनुर तोसन र फ्रिलान्सर बुलेन्ट किलिक र जेयनेप कुराय हुन् ।

एएफपीको व्यवस्थापनले अक्गुललाई रिहा गर्न बारम्बार आह्वान गरेको थियो भने उहाँका वकिल केमल कुमकुमोग्लुले अक्टोबर-२४ मा अन्तिम सुनुवाइमा अदालतमा कुनै आपराधिक गल्ती नभएको बताउनु भएको थियो । टर्कीको एक अदालतले बुधबार लोकप्रिय राजनीतिक पत्रकार र टिप्पणीकार फातेह अल्तायलीलाई एर्दोगनलाई “धम्की”दिएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ । आरएसएफको विश्व प्रेस स्वतन्त्रता सुचिमा टर्की १८० देशमध्ये १५९ औँ स्थानमा रहेको छ । रासस/एएफपी