जब अलेक्जेन्डर बोकर र उनकी श्रीमती जुलिया स्वार्ज आइतबार बिहान ब्युँझिए समाचारका शीर्षक उनीहरूले आशा गरेको जस्तो थिएन । उनीहरूले सञ्चालन गरिरहेको कम्पनीको एउटा ट्रक बोकर अजिलो फर्निचर लिफ्टलाई पेरिसको लुभा सङ्ग्रहालयबाट गरगहना चोरीमा प्रयोग गरिएको र त्यो ट्रक अझै पनि सङ्ग्रहालयको कौसीमुनि रहेको तस्बिर सबैतिर प्रकाशित थियो ।
कात्तिक २ गते लुभामा चार नकाबधारी चोरले प्रवेश गरेर मात्र सात मिनेटमा १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका आठ थान पुरातात्त्विक महत्त्वका आभूषण चोरेर लगेका थिए । फ्रान्समा यस कार्यलाई राष्ट्रिय विपत्तिका रूपमा लिइएको छ । चोरले लुभाको कौसीमा उक्लन र चोरी गरेर ओर्लन बोकरको कम्पनीको ट्रक प्रयोग गरे, जुन ट्रक पनि उनीहरूले चोरेका थिए ।
नेपोलियन बोनापार्ट युगका आभूषणलाई विश्वको एक अति सुरक्षित सङ्ग्रहालयबाट चोर्नु चानचुने कुरा होइन । त्यो पनि दिउँसै निमेषभरमा ।
बिहान सङ्ग्रहालय खुलेको केही छिनमै ९.३० बजे चोरहरू लुभा आइपुगे । सिन नदीको नजिक पर्ने सङ्ग्रहालयको अपोलो ग्यालरीसँगै चोरले बोकर अजिलो फर्निचर लिफ्ट ट्रक रोके । त्यस ट्रकमा रहेको लामो भ¥याङ प्रयोग गरेर पहिलो तलाको झ्यालमाथि रहेको कौसीमा चोर पुगे । उनीहरू मर्मतसम्भारकर्मीको भेषमा थिए । यसैले सुरक्षाकर्मी र अन्य मानिस झुक्किए । कौसीमा पुगेर दुई जना चोर मेसिनद्वारा झ्यालका सिसा काटेर भित्र छिरे । सुरक्षाकर्मीलाई शङ्का त लाग्यो तर उनीहरू सुरक्षा नियम अनुसार पहिले सङ्ग्रहालय अवलोकनकर्तालाई बाहिर निकाल्नमा लागे । त्यही मौकामा चोरहरूले आभूषण प्रदर्शनमा राखिएको सिसाको बाकस फोडी गहना लिई त्यहाँबाट भ¥याङ हुँदै बाहिर निस्केर दुई वटा स्कुटरमा फरार भएका थिए ।
–युवामञ्च