• ११ मंसिर २०८२, बिहिबार

सारङ्गीको धुनसँगै दुई दशकको यात्रा

blog

विरहका कथाहरु गीत र धुनमा सुनाउँदै विष्णु गन्धर्व । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर ११ गते ।
हातमा सारङ्गी, मनमा असङ्ख्य कथाहरु बोकेर ४२ वर्षीय विष्णु गन्धर्व दई दशकभन्दा बढी समयदेखि गाउँ–शहरमा डुल्दै विरहका कथाहरु गीत र धुनमा सुनाउँदै आउनुभएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–९, अर्घामा जन्मनुभएका विष्णु गन्धर्वले १४ वर्षको उमेरमै सारङ्गीसँग जीवन बाँधेर यात्रा सुरु गर्नुभएको हो । घरको आर्थिक अवस्था कमजोर, समाजको बाध्यता र परम्परागत गन्धर्व पेशाको निरन्तरताले उहाँलाई सारङ्गी बोकेर गाउँ–गाउँ हिंड्न बाध्य बनाएको उहाँले सुनाउनुभयो ।

गाउँ–गाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका यो समयमा विष्णुले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिनुका साथै जीविकोपार्जन गर्दै आउनुभएको छ । बाहिरबाट कसैले नदेख्ने, तर मनभित्र निरन्तर बगिरहने संघर्षका ती धाराहरू गीत बनिरहन्छन् अनि स्वरमा मिसिन्छन्। विष्णुका लागि सारङ्गी केवल काम होइन, यो नेपालकै मौलिक पहिचान, लोककला र बिद्यमान संस्कृतिलाई बचाइराख्ने एउटा साधन समेत हो ।

गुल्मी तम्घासमा आउनुभएका उहाँले घर–घरका पिँढीमा बसेर, कहिले चियाको भरमा, कहिले खालि पेटमै पनि, उहाँले समाजका कथा–व्यथा गीतमा उतारेको बताउनुभयो। त्यस्तै कसैको प्रेमकथा, कसैको बिछोड, कसैको विदेशिएका परिवारको पीडा सबै उहाँका धुनले बोक्छन् ।

अर्घाखाँचीदेखि गुल्मी, बुटवल, कपिलवस्तु, पोखरा, रोल्पा, दाङ, चितवन, नवलपरासी, बाग्लुङ, पर्वत, प्युठान, पाल्पा, नेपालगञ्जलगायतका विभिन्न जिल्लामा आफू पुगेको उहाँले बताउनुभयो । आफूले गीत गाउँदा धेरैको मन रोएको, हाँसेको, सम्झिएको र बिर्सिएको अनुभूति सुनाउनुभयो । गाउँको उजाड बनिरहेका घरदेखि शहरका व्यस्त सडकसम्म, उहाँको सारङ्गीले एउटै सन्देश सुनाउँछ, “नेपाली लोकसंस्कृति जिउँदो छ, हामीसँगै हिँडिरहेको छ ।”

सारङ्गीको तानसँगै दैनिक भेटिएका अनुहार, घर–परिवारका सम्झना, परदेशिएका युवाहरूको पीडा, समाजका नबोलीएका आवाज सबै एक–एक गरेर गीतमा बग्छन् । उहाँ प्रायः गाउँने गीत कतै भेटिएर बनाइएका कल्पना होइनन्, आफ्नै आँखाले देखेका पीडाका दृश्यहरू हुन् ।

तेस्रो पुस्तासम्म आइपुग्दा परम्परागत गन्धर्व पेशामा संलग्न हुनेहरूको सङ्ख्या घट्दो भन्दै उहाँले नयाँ पुस्ता रोजगारी र प्रविधितर्फ मोडिँदै गर्दा सारङ्गीको धुन हराउने डर रहेको बताउनुभयो । विष्णुजस्ता कलाकारले भने परम्परालाई जीवन्त राखिरहनुभएको छ । गाउँ–टोलमा, उत्सव–पर्वमा, सडकको भित्तामा, कतै चिया पसलको छेउमा उहाँ आज पनि सारङ्गीको तानसँगै संस्कृति बोकेर हिँडिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिचान बिर्सिने होइन, बोकेर हिँड्ने हो । संस्कृति किताबमा लेखेर मात्र जोगिँदैन, व्यवहारमै बचाउनुपर्छ ।” सारङ्गीमा रमाएका धेरैले धुन सुनिदिन्छन्, तर सारङ्गी बोकेर जताततै डुल्ने मान्छेको कथा भने थोरैले सुन्छन् । दैनिक जिन्दगीको चटारो, परिवार पाल्नुपर्ने जिम्मेवारी, पैसाको अभाव, मौसमको कठोरता सबैसँग लड्दै उहाँले जीवनको अधिकांश हिस्सा यसै पेशामा समर्पित गरेको बताउनुभयो ।