पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर १० गते । पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ ।
विराट नेपाल मेडिकल ट्रष्टअन्तर्गतको परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम गरेको हो । स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीका अनुसार, यो पहल स्वास्थ्य संस्थाभित्रै क्षयरोगको जोखिम नियन्त्रण गर्न र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण मानिएको छ ।
स्वास्थ्य कार्यालय र बर्दघाट नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रममा अस्पतालका ४२ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको सहभागिता रहेको थियो । शङ्कास्पद १७ जनाको खकार नमुना सङ्कलन गरी थप जाँचका लागि प्रयोगशालामा पठाइएको छ ।
प्रयोगशालाबाट खकार जाँचको नतिजामा क्षयरोग पुष्टि भएको खण्डमा उनीहरूको पूर्ण क्षयरोग उपचारको थालनी गरिने आयोजकले जनाएको छ । नतिजा पोजेटिभ आएका व्यक्तिहरूलाई तत्काल क्षयरोग निवारक उपचार सुरु गरिनेछ । यो स्क्रिनिङ स्वास्थ्यकर्मीहरूलाई क्षयरोगको सङ्क्रमणबाट जोगाउन र प्रारम्भिक चरणमै रोग पत्ता लगाई उपचार सुरु गर्नका लागि महत्त्वपूर्ण मानिएको छ ।