गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १० गते । कुनै व्यक्तिमा बाथरोगको सम्भावना छ, छैन भनेर पहिले नै पत्ता लगाउन सकिने भएको छ । नेपालमा पहिलो पटक सक्षम डायग्नोस्टिक मेसिन किट भित्रिएपछि बाथरोगबारे जानकारी लिन लक्षण कुर्नुपर्ने छैन । समयमा पत्ता लगाएर बाथरोगको निदान गर्न सकिने छ । लक्षण देखा परेपछि मात्र अस्पताल गएर रोग पत्ता लगाई उपचार गर्नुपर्नेमा अब रोग लाग्नुभन्दा पहिले नै बाथरोग हुन सक्ने सम्भावनाबारे जानकारी लिन सकिन्छ ।
नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलो पटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोस्टिक किट ल्याएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा सो डायग्नोस्टिक किटको शुभारम्भ गरिएको छ । वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा नेपाल ल्याइएको उक्त मेसिन नेपाललगायत दक्षिण एसियाकै लागि प्रभावकारी हुने दाबी गर्नुभयो ।