• १० मंसिर २०८२, बुधबार

प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गाखर्क

blog

पर्यटकीयस्थल चाङ्गाखर्कमा पुगेका आन्तरिक पर्यटक र हिमालको दृश्य । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

चाङ्गा, मङसिर ९ गते । म्याग्दीको मंगला गाउँपालिका –५ स्थित चाङ्गाखर्क प्राकृतिक रुपमा मनोरम छ । चाङ्गाखर्कबाट लहरै हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको छ । 

दुई हजार दुईसय ५० मिटरको उचाइमा रहेको चाङ्गाखर्कबाट एक दर्जनभन्दा बढी हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँदेखि सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य देख्न सकिन्छ । 

पुथा, गुर्जा, सिता, चुरेन, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश र धम्पुस लगायत हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । चाङ्गाखर्क सिर्कुम गाउँको शिरमा पर्दछ । यहाँ १७ घरपरिवार बसोबास गर्दछन् । मंगला गाउँपालिकाको केन्द्रदेखि यहाँसम्म पुग्न सडक सुविधा उपलब्ध छ । शान्त र प्राकृतिक वातावरणले8 यहाँ आउने पर्यटकलाई लोभ्याउँछ । 

प्राकृतिक रुपमा मनोरमस्थल भएकाले गाउँपालिकाले चाङ्गा क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने योजनाका साथ पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

चाङ्गाखर्क पर्यटकीयड हिसाबले सम्भावनायुक्त क्षेत्र भएकाले पर्यटन पूर्वाधार निर्माण, सडक स्तरोन्नति र पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने वडा ५ का वडाध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो । 

बेनी–दरबाङ सडक हुँदै मंगला गाउँपालिकाको केन्द्र बावियाचौर पुगेपछि त्यहाँदेखि म्याग्दी खोला पार गरेपछि पीपलबोट, पाँखु, धारा, सिर्कुम, टिकाबाङजस्ता ग्रामीण वस्तीहरु हुँदै पर्यटकीयस्थल चाङ्गा पुग्न सकिन्छ । ठाउँ ठाउँमा रहेका स्थानीय आमा समूहहरुले पर्यटकलाई स्वागत गर्ने राम्रो संस्कार र संस्कृति पनि यहाँ छ । 

 बेनीदेखि गौश्वारा, बेलढुङ्गा, चिनाकोट दरबार, झाक्रीपानी, तिनचुले, चाङ्गा, निस्कोट, रुमको दुरुलेकसम्मका पर्यटकीय स्थलहरुलाई समावेश गरेर ग्रामीण पदमार्गको विकास गर्न सकेमा आन्तरिक एवम् बाह्यै पर्यटक ल्याउन सकिने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनभुयो ।