निशा राई
धरान, मंसिर ९ गते । धरान उपमहानगरमा रहेको नेपाल प्रहरी विद्यालयले सातौं कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता –२०८२ आगामी पुस ९ गतेदेखि गर्ने भएको छ ।
“फेयरप्ले फर फ्रेण्डसिप” भन्ने मुख्य नारासाथ विद्यालय स्तरदेखि नै खेलकुदलाई प्रवर्धन गर्नुका साथै भविष्यमा राष्ट्रिय टिमका सम्भावित खेलाडी उत्पादन गर्न सहयोग गर्ने उद्देश्यसाथ सातौं प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायुले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने सबै टोली तथा प्रतिनिधिहरूबिच अनुभव तथा दक्षताको आदानप्रदानमार्फत सहकार्य र सहयोगको वातावरण निर्माण गर्ने आशा समेत रहेको उहाँले बताउनुभयो ।
प्रतियोगिता पुस ९ गतेदेखि १९ गतेसम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशभरिका १६ विद्यालयको कक्षा १० सम्म अध्ययनरत छात्रले भाग लिनेछन् । यस प्रतियोगितामा ऐन्फाले आयोजना गरेको कुनै पनि लिग नखेलेको हुने जनाएको छ ।
प्रत्येक टिममा बैकल्पिक खेलाडीसहित जम्मा १४ जना हुनेछ । दर्ता शुल्क ८ हजार रहेको छ । प्रथम पुरस्कार ८१ हजार ५ रुपियाँ, दोस्रो पुरस्कार ४१ हजार ५ रुपियाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार ५ रुपियाँ मेडल तथा प्रमाणपत्र दिइनेछ । विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ रुपियाँ ट्रफि तथा प्रमाणपत्र, बेष्ट गोलकिपर, बेष्ट मिड फिल्डर, बेष््ट डिफेन्डर, हाई स्कोरर, राईजिङ प्लेयर, बेष्ट कोचलाई नगद रकम दुई हजार ५ रुपियाँ र उत्कृष्ट रिपोर्टर पुरस्कार नगद रकम २५ हजार ५ रुपैंया ट्रफि, प्रमाणपत्र साथै कक्षा ११ मा ५० प्रतिशत छुट दिने आयोजकले जनाएको छ ।
अवधीभर समाचार संकलन गर्ने उत्कृष्ट पत्रकारलाई नगद रकम २५ हजार ५ रुपियाँले सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन कार्यक्रममा प्रतियोगिताको सल्लाहकार प्राचार्य मनिका सुब्बा राई, खेल संयोजक सागर कार्की, संयोजक सागर लिम्बु, विजयकुमार राई, शुक्रराज राईलगायतको उपस्थिति रहेको थियो ।