• ९ मंसिर २०८२, मङ्गलबार

जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी : डब्लुएफपी

blog

लागोस (नाइजेरिया), मङ्सिर ९ गते । उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले मंगलबार जनाएको छ । 

उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसले आगामी सन् २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ । करिब १६ वर्ष लामो जिहादी विद्रोहको केन्द्रबिन्दु बोर्नो राज्यका करिब १५ हजार मानिस “विनाशकारी भोकमरी” वा अनिकालको अवस्थामा पुग्ने अनुमान गर्दै  डब्लुएफपीले विज्ञप्ति जारी गरेको छ ।

द्वन्द्वले ४० हजार भन्दा बढी मानिसको ज्यान लिएको छ भने उत्तरपूर्वमा करिब २० लाख अन्य विस्थापित भई छिमेकी देशमा गएको जनाइएको छ । नाइजेरियाले उत्तरपूर्वमा बोको हराम र मध्य तथा उत्तरपश्चिममा “डाकु” गिरोहको नेतृत्वमा हिंसाको सामना गरिरहेको छ, जसले गाउँमा छापा मार्छ, मानिसलाई मार्नुका साथै र फिरौतीका लागि अपहरण गर्दछ । 

गत हप्ता मात्रै नाइजेरियाले तीन वटा सामूहिक अपहरणको सामना गरेको जनाइएको छ । नाइजर राज्यमा क्याथोलिक स्कूलका करीब ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षक अपहरण गरिएको थियो, भने केब्बी राज्यमा २५ मुस्लिम हाई स्कूलका छात्राको अपहरण भएको थियो । यसै गरी क्वारा राज्यमा ३८ जना उपासकलाई चर्चबाटै अपहरण गरिएको जनाइएको छ । रासस/एएफपी