• ९ मंसिर २०८२, मङ्गलबार

विभिन्न स्थानबाट १३ जना पक्राउ

blog

काठमाडौँ, मङ्सिर ९ गते । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागु औषधसहित पक्राउ गरेको छ । कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर-तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागु औषधसहित उनीहरू पक्राउ परेका हुन् । 

कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन् । मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ । 

झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउन सुगरसहित पक्राउ परेका छन् । मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन् । 

बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अघि बढाएको छ । रासस