सन्तोष दहित
दाङ, मङ्सिर ९ गते । बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारू समुदायको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ।
हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन रहेको तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा पूर्णबहादुर चौधरीले बताउनुभयो । “थारू समुदायमा यो पूजा अनिवार्यजस्तै मानिन्छ” उहाँले भन्नुभयो, “वर्षमा दुई पटक देशबन्ध्या गुर्वा वा घरगुर्वाले पूजा गरिदिन्छन्” उहाँले भन्नुभयो । लौठसारी पूजा गरेपछि घरको बालबालिका तथा महिलाको स्वास्थ्य राम्रो हुने, रोगव्याधि घट्ने र पारिवारिक सुख–समृद्धि आउने जनविश्वास छ ।
पछिल्लो समय गैरथारू परिवारले पनि लौठसारी पूजा गराउने बढिरहेको उहाँले बताउनुभयो । “म अहिले करिब ४५० घरमा लौठसारी पूजा गर्छु” उहाँले भन्नुभयो, “तीमध्ये करिब एक सय वटा पहाडी समुदायका घर छन ।” दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँबाट उहाँलाई पूजा गर्न बोलाउने गरिन्छ । पूजा गरेबापत सेवा शुल्क तय गरिएको छैन ।
स्वच्छाले कोही पाँच सय दिनुहुन्छ, कोही एक हजार, उहाँले भन्नुभयो । उहाँ शिक्षण पेसा छाडेर पूर्णरूपमा पूजापाठ र धर्मकर्ममा लाग्नुभएको छ । “संस्कृतिको संरक्षण गर्दै काम गर्दा ठुलो सन्तुष्टि मिल्छ” उहाँको भनाइ छ । उहाँले करिब ४२ वर्षदेखि थारू संस्कार अनुसारका पूजापाठ गर्दै आउनुभएको छ।
यसैगरी, दङ्गीशरण–३, हेकुलीका गुर्वा खुशीराम चौधरी पनि अहिले लौठसारी पूजामा अत्यन्त व्यस्त हुनुहुन्छ । आफ्नै गाउँदेखि छिमेकी गाउँ र पालिकासम्म पुगेर उहाँले पूजा गरिदिनु हुन्छ । “पहिला टाढाका गाउँसम्म पनि जान्थेँ, अब उमेर लागेपछि धेरै टाढा जान छाडेको छु, कोही गाडी लिएर आउनुभयो भने त्यहाँ पनि गइदिन्छु, खुशीरामले भन्नुभयो, “३५–३६ वर्षदेखि निरन्तर गुरैपाटी गर्दै आएको छुँ ।”