ढाका, मङ्सिर ८ गते । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेश न्युज २४ ले उहाँका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ ।
उहाँलाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ । मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा उहाँको स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहनेछ । उहाँले भन्नुभयो, “खालिदा जिया पछिल्ला केही महिनादेखि पटक-पटक अस्वस्थ बन्नुभएको छ । यसपालि विभिन्न स्वास्थ्य समस्या एकसाथ देखापरेकाले हामीले तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्याे ।”
डा.सिद्दीकीका अनुसार पहिलेबाटै रहेको मुटुको समस्या र हालको छातीको सङ्क्रमणले उहाँको अवस्था थप जटिल बनाएको छ । “उहाँसँग स्थायी पेसमेकर छ, मुटुको स्टेन्टिङ भइसकेको छ र अहिले मुटु तथा फोक्सो दुवै प्रभावित भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ”, उहाँले स्पष्ट पार्नुभयो ।
अस्पताल आइपुग्नेबित्तिकै आवश्यक सबै परीक्षण गरिएको थियो । प्रारम्भिक रिपोर्टका आधारमा मेडिकल बोर्डले जियालाई एन्टिबायोटिक सुरु गर्ने र तत्कालै द्रुत तथा गहन हेरचाह प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । आगामी २४ घण्टाभित्र थप परीक्षणका नतिजा आउने अपेक्षा गरिएको छ र उहाँलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।
उहाँलाई साँझ ८ बजे भर्ना गरिएको हो र एभरकेयर अस्पतालका वरिष्ठ विशेषज्ञ प्रोफेसर साहाबुद्दिन तालुकदारको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । भर्ना भएपछि डा.सिद्दीकी, डा.जफर इकबाल, डा.जियाउल हक, डा.मामुन अहमद, सेवानिवृत्त ब्रिगेडियर जनरल सैफुल इस्लाम, विदेशबाट आएका डा.जुबैदा रहमान तथा संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स अस्पतालका विज्ञ सहभागी रहने गरी विस्तारित मेडिकल बोर्डको बैठक बोलाइएको थियो ।
उहाँकी निजी चिकित्सक तथा बिएनपी स्थायी समितिका सदस्य प्रोफेसर एजेडएम जहिद हुसेनले उपचार व्यवस्थित र अत्यन्त सावधानीका साथ भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कुनै गम्भीर प्रतिकूल घटनाक्रमबारे अहिले चिन्तित छैनौँ । उपचार शुरु भइसकेपछि मेडिकल बोर्ड १२ घण्टामा पुनः बस्नेछ र आवश्यक परे हेरचाहमा परिवर्तन गर्नेछ ।”
शनिबार बिहानदेखि लन्डनमा रहेका तारिक रहमान तथा जियाकी बुहारी डा. जुबैदा रहमान अस्पतालसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । दिवङ्गत अराफात रहमान कोकोकी श्रीमती सैदा शमिला रहमानसहित परिवारका सदस्य पनि उपचार प्रक्रियामा सक्रियरूपमा संलग्न हुनुहुन्छ ।
७९ वर्षीया खालिदा जिया दीर्घकालदेखि गठिया, मधुमेह, मिर्गौला र फोक्सोसम्बन्धी समस्या तथा दृष्टि कमजोर हुने स्वास्थ्य चुनौतीसँग जुध्दै आउनुभएको थियो । उन्नत उपचारका लागि उहाँ गत जनवरी ७ मा लन्डन जानुभएको थियो र ११७ दिनपछि मे ६ मा बङ्गलादेश फर्कनुभएको थियो । रासस/एएनआई