वासिङ्टन, मङ्सिर ८ गते । न्युयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नुभएको छ । भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।
शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर-निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दाबी दोहोर्याउनुभयो । यद्यपि उहाँले शुक्रबारको संवादलाई ‘फलदायी र सद्भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका किफायती चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित गम्भीर विषयमा गहन छलफल भएको बताउनुभयो ।
भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि सहृदय रवैया अपनाउँदै पत्रकारहरूलाई ममदानीबारे ‘मै उत्साहित छु’ भन्ने टिप्पणी गर्नुभएको थियो । ममदानीका अनुसार वार्ताको केन्द्रविन्दु न्युयोर्क सहरका जनतामाथि परेको अत्यधिक जीवनयापन लागत र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा केन्द्रित थियो ।
ट्रम्पप्रतिको आफ्नो अघिल्लो आरोपप्रति पुनः धारणा राख्दै ममदानीले भन्नुभयो, “मैले विगतमा भनेका सबै कुरामा म दृढ छु ।” असहमतिले जिम्मेवारीका काम रोकिनु नहुने बताउँदै उहाँले भन्नुभयो, “म ओभल अफिसमा विवाद झिक्न वा प्रदर्शन गर्न गएको होइन, म न्युयोर्कवासीका लागि परिणाम ल्याउन गइरहेको हुँ ।”
ममदानीका अनुसार उहाँले प्रयोग गरेको विवादास्पद विशेषणलाई राष्ट्रपति ट्रम्पले पनि हल्का हाँसोका साथ लिनुभएको थियो । आफूले ट्रम्पलाई ‘फासीवादी’ भनेका विषयमा पुनः सोधिँदा ममदानीले ‘मैले पहिले नै बोलेको छु’ भन्ना साथ राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्दै ‘ठीक छ, तपाई केवल ‘हो’ भन्न सक्नुहुन्छ, मलाई आपत्ति छैन’ भन्दै हात थपथपाउनु भएको थियो ।
अभियानका क्रममा ममदानीले ट्रम्पलाई भोट दिएका भए पनि बढ्दो जीवनयापन खर्चलाई आफ्नो प्रमुख चिन्ताको रूपमा व्यक्त गरेका क्विन्स र ब्रोन्क्सका मतदातासँग बारम्बार भेट गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार यही समस्याको समाधानलाई नै आफूले आफ्नो मेयर कार्यकालको शीर्ष प्राथमिकतामा राख्ने छु भनेर राष्ट्रपतिको समक्ष स्पष्ट गर्नु भएको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनदेखि नै लागत घटाउने प्रतिबद्धता जनाइसक्नु भएकाले ममदानीले यस विषयलाई लिएर दुवैबिच व्यावहारिक सहकार्यको वातावरण बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘जनताको सधैँ सताउने वास्तविक मुद्दा’ मा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भेटमा न्युयोर्कमा नेसनल गार्ड तैनाथ गर्नेबारे ट्रम्पको अघिल्लो चेतावनी पनि उठाइएको थियो । राष्ट्रपति यस विषयमा पूर्णरूपमा पछि हट्नुहुन्छ कि हुन्न भन्ने खुलेर भन्न नसके पनि ममदानीले एनवाइपिडी सार्वजनिक सुरक्षामा पर्याप्त सक्षम रहेको विश्वास आफूले व्यक्त गरेको बताउनुभयो । भेटपछि राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरूलाई ‘यदि आवश्यक पर्याे भने मात्र सेना पठाइनेछ’ भन्नुभएको थियो ।
चुनावअघिका दिनमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ममदानीलाई ‘कम्युनिस्ट पागल’ सम्म भन्नुभएको थियो र उहाँ मेयर बनेमा सङ्घीय कोष कटौती गर्नेसम्मका चेतावनी दिनुभएको थियो । ट्रम्पले ममदानीका प्रतिस्पर्धी-न्युयोर्कका पूर्व गभर्नर एन्ड्र्यु कुओमो-लाई खुला समर्थन गर्नुभएको थियो । डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग हारेपछि स्वतन्त्र उम्मेदवार बन्नुभएका कुओमो अन्ततः पराजित हुनुभएको थियो । रासस/एएनआई