• ८ मंसिर २०८२, सोमबार

विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा तीन दिन विद्यालय बन्द रहने

blog

जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर ८ गते ।
विवाह पञ्चमी महोत्सवको तयारी तीव्र भइरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै विवाह पञ्चमीको अवसरमा यही मङ्सिर ८ गते (सोमबार) देखि १० गते (बुधबार) सम्म विद्यालयको पठन–पाठन बन्द हुने भएको हो ।

मर्यादा पुरुषोत्तम श्रीराम र माता जानकीको शुभविवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने सप्ताहव्यपी विवाहको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउने भएकाले भीड र सरसफाइ व्यवस्थापनका कारण विद्यालय बन्द गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा शाखा प्रमुख अञ्जु पाण्डेयले विवाह पञ्चमी मेलामा सहभागी हुन आउने भक्तजनका लागि बसोबास, स्वच्छता तथा पिउने पानीको व्यवस्था मिलाउन स्थानीय समुदाय, विद्यालय तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष अत्यधिक भीड हुने विवाह पञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक मनाइने तयारी भएको छ ।