नारायणगढ समाचारदाता
नारायणगढ, मङ्सिर ८ गते । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि बन्द रहेको मौलाकाली केबुलकार शनिबारदेखि सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केबुलकार गत भदौ २५ गतेदेखि बन्द रहेको थियो । मौलाकाली केबुलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले दुई महिनापछि केबुलकार पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “प्राविधिकहरूद्वारा केबुलकारको आवश्यक मर्मत तथा परीक्षण गरेर पुनः सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।
भदौ २४ गतेको तोडफोड र आगजनीका कारण केबुलकारको बटम स्टेसनमा रहेका कार्यालय भवन फर्निचरलगायत प्राविधिक उपकरण क्षतिग्रस्त भएपछि कम्पनीले सेवा बन्द गरेको थियो । केबुलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिक आएर केबुलकार पुनर्निर्माण गरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकार अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।
केबुलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिर दर्शन गर्न जाने भक्तजनलाई असर परेको थियो । केबुलकार सञ्चालनमा आएसँगै ३० प्रतिशतभन्दा बढी भक्तजन बढेको कम्पनीको दाबी छ ।