नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर ७ गते । बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधी र उपचार निःशुल्क हुँदै आएकोमा चालु आर्थिक वर्षबाट सो कार्यक्रम यस क्षेत्रका दुई ठुला निजी अस्पतालमा बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई नै रोज्ने गरेका पाइएको छ । निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले ठुलो समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताउनुभयो । उहाँले तीन सय शøयाको यो अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा गम्भीर समस्या भएको बताउनुभयो ।
भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा. उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताउनुभयो । डा. पराजुलीले भन्नुभयो, “अहिले दिनमा १२ देखि २० जनाको शल्यक्रिया र २० देखि ३० जनाको सामान्य प्रसूति भइरहेको छ । सामान्य बेडदेखि पोस्टअप बेडको चरम अभाव छ । कुनै दिन सय जनाभन्दा बढी प्रसूति गराउनेहरू आउने गरेका छन् । सबैलाई उपचार दिन समस्या छ ।”
उहाँले प्रसूति विभागमा चिकित्सक, अन्य जनशक्ति र बेड तत्काल थप्नुपर्ने बताउनुभयो । भेरी अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या जतिसुकै पुगे पनि कसैलाई पनि फिर्ता नगरी उपचार गरिएको अस्पतालले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले सरकारले दिएमा आमा सुरक्षा कार्यक्रम चलाउन तयार रहेको बताउँदै आएका छन् ।