नवराज नेपाली
बागलुङ, मङ्सिर ७ गते । बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एकजना घाइते भएका छन् भने करिब ६ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
दाँग डाँडखर्कका देविराम घिमिरेको घरमा ‘अदिया’ गरी बस्दै आएका बडिगाड–७ टुनिबोट निवासी चन्दन घर्तीको दुई तले गोठमा बिहान करिब ४ः३० बजे पानी तताउने क्रममा एक्कासी आगलागी भएको जनाइएको छ ।
आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि गल्कोट नगर अस्पताल पठाइएको छ ।
आगलागीबाट पाँच वटा बोका र चार वटा बाख्रा जलेर मरेका छन् भने दुई वटा भैंसी घाइते भएका छन् । पशु चौपायासहित घरगोठ जलेर ठुलो क्षति भएको गाउँपालिकाले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि खार प्रहरी चौकीलाई खबर गरिएको छ । आगलागीले ‘अदिया’ गरी बसेको घर्ती परिवारमा थप सङ्कट थपिएको स्थानीयको भनाइ छ ।