साहारा लिम्बू
फुङलिङ, मङ्सिर ७ गते । ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् ।
एकेडेमीको दोस्रो वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी गराइएको छ । एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूका अनुसार हालसम्ममा एकेडेमीबाट एक सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रदेखि विश्व बजारमा रोजगारी पाएका छन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको हो । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थिक सहयोगमा ह्युमन प्राक्टिस फाउण्डेसनमार्फत स्थापित एकेडेमीले विश्व बजारमा ताप्लेजुङका युवाहरूले समेत रोजगारी पाएको प्रसङगलाई प्रशंसा गर्दै मनाइएको छ ।
रोजगारीका लागि विदेशिने युवाको क्रमलाई रोक्न आइटी एकेडेमीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रति कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले प्रशंसा गरेका थिए । आफ्ना पालिकाका युवालाई समेत आइटी एकेडेमीमा सीप सिकाउने र रोजगारी उपलब्ध गराउने गरि पालिका मार्फत बजेको व्यवस्थापन गर्ने पालिका अध्यक्षहरूले प्रतिबद्धता समेत गरेका छन् ।
चालु आर्थिक वर्षमै कार्यन्वयन हुने गरी मन्त्री हाङगामले करिब ४० लाख रुपियाँको बजेट विनियोजन गर्नु भएको छ । एकेडेमीका संस्थापक स्मिथले उत्कृष्ट कार्य गरिरहेका पूर्व विद्यार्थीद्वय असिम तोलाङ र सानु इङ्वासामको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकार मन्त्री हाङगाम, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङबो, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।