• ७ मंसिर २०८२, आइतबार

श्रम स्वीकृति लिने पन्ध्र प्रतिशतले बढे

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ७ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१/८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो । 

विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सो अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आवको भन्दा यो आवको ४२ हजार २७ ले बढी हो । 

चालु आवको सो अवधिमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बढेको जानकारी दिनुभयो । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्या वृद्धि भएको उहाँको बुझाइ छ ।  पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन आए पनि रोजगारीका लागि जानेको सङ्ख्या बढेको देखिन्छ । चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

युएई तेस्रो गन्तव्य

कात्तिकमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका ७३ हजार ९४ मध्ये सबैभन्दा धेरै साउदी अरबका लागि १५ हजार ७६९ युवाले लिएका छन् । यसअघिका महिनामा पहिलो श्रम गन्तव्य देश बन्दै आएको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा भने तेस्रो बनेको छ । नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै युएई तेस्रो श्रम गन्तव्य हुन पुगेको छ । विभागका अनुसार गत कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि नौ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् । युवाले पछिल्ला महिना वैदेशिक रोजगारीमा जान १०६ देशका लागि श्रम स्वीकृति लिएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले युएईमा श्रमिक भिसामा गर्दै आएको कडाइको असर कात्तिकमा थोरै देखिए पनि मङ्सिरमा अझै स्पष्ट रूपमा देखिने बताउनुभयो । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको उहाँको भनाइ छ ।