तानसेन समाचारदाता
तानसेन, मङ्सिर ५ गते । पाल्पाको पूर्वखोला देवीनगरस्थित उड्डाँडाबाट निरन्तर रूपमा कालो कोइलासहितको पानी बगेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । चार वर्षअघि उड्डाँडामा पहिरो खसे पनि कोइलासहितको पानी बगेको थिएन । पछिल्लो एक महिनायता उड्डाँडाबाट कालो कोइलासहितको लेदो पानी तिनाउ नदीमा बग्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् ।
तिनाउखोलामा कालो लेदोसहितको पानी निरन्तर बगेपछि चिन्तित बनेका छन् । तिनाउ नदीको मुहान देवीनरको उड्डाँडास्थित लिन्दीगैराबाट कोइलासहित कालो पानी निरन्तर बगेको छ । त्यसले तिनाउ नदी भएर बग्ने माथागढी–१, चिदीपानी–४, झडेवा–३, कसेनी, तानसेन–९, बगनासकाली–१, २ र ३ का बासिन्दा त्रसित बनेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
उहाँले तिनाउ नदीको मुहान उड्डाँडामा पहिरोसहितको कोइला पानी बग्दा नदी धमिलो कालो बनेको बताउनुभयो । तिनाउ नदीमा कालो लेदोसहितको पानी बगेपछि तल्लो तटीय क्षेत्रका किसानले कालो पानी खेतमा लगाउन र दैनिक घरायसी काममा प्रयोग गर्न सकेका छैनन् ।
माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थीले कालो पानी देखेपछि त्यसले खेत र बालीमा असर गर्ने होकि भनेर किसान चिन्तित बनेको बताउनुभयो । उहाँले धान काटेर गहुँ र आलु लगाउने तयारी गरेका किसानले कालो धमिलो पानी सिँचाइ गर्न डराइरहेको बताउनुभयो ।
पूर्वखोला–४ का स्थानीय बासिन्दाले भेला बसेर त्यहाँबाट बगेको पानी प्रयोग नगर्न आग्रह गरेका छन् । वडाध्यक्ष मेहरसिंह थापाले उड्डाँडा कोइला खानी क्षेत्रसमेत भएकाले त्यहाँबाट बगेको पानी सिँचाइ गर्न, वस्तुभाउलाई खुवाउन र मानिसले समेत प्रयोग गर्न नमिल्ने जानकारको भनाइ आएकाले सबैलाई सूचित गरिएको बताउनुभयो ।
स्थानीय बासिन्दा र वडा कार्यालयको भेलाले त्यस क्षेत्रमा स्थलगत अध्ययन गरी पहिरो व्यवस्थापन तथा अन्य आवश्यक कार्य गर्न जिल्लास्थित सरकारी कार्यालयलाई आग्रह गरेको छ । जिल्लास्थित डिभिजन वन कार्यालय पाल्पा, भू तथा जलाधार कार्यालय, खानेपानी कार्यालयमा समेत आवश्यक कार्य गर्न बैठकले अनुरोध गरेको छ । स्थानीय बासिन्दाका अनुसार उड्डाँडा क्षेत्रमा सानो गोरेटोलाई खनेर पक्की बाटो बनाएको दुई वर्षपछि निरन्तर रूपमा पहिरो गएको छ । स्थानीय बासिन्दा खेमबहादुर बरालका अनुसार एक वर्षअघिसम्म सानो पहिरो अहिले बिस्तारै बढेर भित्रबाट कोइला पानी बगिरहेको छ । उहाँले यहाँको पहिरो निरन्तर बगे माथिल्लो भागमा रहेका १२ घरसमेत जोखिममा पर्ने र तल्लो तटीय क्षेत्रमा नसोचेको असर गर्ने बताउनुभयो ।