• ५ मंसिर २०८२, शुक्रबार

रेसुङ्गा सभाहल निर्माणः तीन वर्षमा ७० प्रतिशत भौतिक प्रगति

blog

निर्माणाधीन रेसुङ्गा सभाहल । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर ५ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माणाधीन सभाहल निर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक सभाहल विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो । रेसुङ्गा सभाहलको निर्माण कार्य सुरु भएको तीन वर्षमा ७० प्रतिशत भौतिक प्रगति भएको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घनश्याम यादवले जानकारी दिनुभयो ।

इन्जिनियर यादवका अनुसार सभाहल निर्माणका लागि २०७९ कात्तिक २७ गते सम्झौता गरिएको थियो । २०८१ कात्तिक २७ गतेसम्म सभाहलको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएता पनि बजेट अभावसँगै अन्य विभिन्न समस्याका कारण सभाहलको निर्माण कार्य सम्पन्न हुन नसक्दा दुई पटक म्याद थप गरिएको बताइएको छ । सभाहलको सम्पूर्ण निर्माण कार्य सम्पन्नका गर्नका लागि २०८२ चैत ३० गतेसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो । डिएनडी सत्तेश्वर ¥याकेट जेभीसँग सभाहल निर्माणका लागि सम्झौता भएको थियो । 
तोकिएकै समयमा सभाहलको भवन हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको छ । सङ्घीय सरकारअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित १४ करोड १७ लाख १३ हजार ९३७ रुपियाँ लागतमा सभाहल निर्माण हुन लागेको हो । सभाहलले पाँच रोपनी क्षेत्रफल ओगटेको छ । दुईतले, भूकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भूकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुविधा र दुईवटा हलसहितको आधुनिक सभाहल निर्माणाधीन अवस्थामा छ । एकातिर १०८ जनाको बहुउद्देश्यीय र ४३२ जनाको क्षमतासहितको मुख्य हल अर्कोतर्फ निर्माण भएको उहाँले बताउनुभयो ।

सभाहल निर्माणको हालसम्मको ६३ प्रतिशत आर्थिक प्रगति भएको छ । सभाहलको सिभिल वर्कको काम सकिएको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले हल डेकुरेशनसँगै फर्निचर व्यवस्थापन, गार्डेन, फाउन्टेन र कम्पाउन्डको काम चलिरहेको छ । सुरुमा सभालको डिजाइन समयमा नआउनु, जग्गाको विवाद, भूगोलको स्थिति फरकसँगै सडकको व्यवस्था र नहुँदा समस्या परेको निर्माण व्यवसायी गौतमले बताउनुभयो । बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ आएको हुँदा राज्यले समयमै भुक्तानी दिन सकेमा काम गर्न सहज हुने उहाँको भनाइ छ ।