बिष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ४ गते । जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले यस प्रकारको घटनामा संलग्नको निगरानी र नियन्त्रण कार्य तिब्र बनाएको प्रहरी श्रोतको भनाइ छ । यस क्रममा प्रहरीले लुटिएका हतियार तथा गोलीहरू पनि नियण्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अस्थायी प्रहरी चौकी गरामनीमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई बिहीबार प्रहरीले घरैबाट पक्राउ गरेको छ । बिर्तामोड तथा आसपासबाट अहिलेसम्म १६ जनालाई पक्राउ गरी सकिएको प्रहरीको भनाइ छ ।
यसैगरी इलाका प्रहरी कार्यालय दमकले पनि बिहीबारसम्ममा १३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी श्रोतका अनुसार दमकमा पक्राउ परेकाहरूमध्ये १७ वर्षभन्दा कम उमेरका ३ जना नाबालक छन् । खड्काका अनुसार पक्राउ परेकाहरूलाई अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हतियार-खरखजना मुद्दा दर्ता गरिएको छ ।