लीलाधर वली
घोराही, मङ्सिर ४ गते । दाङमा जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक दिपक श्रेष्ठले अपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दाङ जिल्ला अदालतको भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न तीन जना, इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवनमा संलग्नमा दुई/दुई जना, घोराहीस्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरिएको बताउनुभयो ।
यसैगरी, उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जनालाई पक्राउ गरी इलाका प्रहरी कायालय तुलसीपुरबाट मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना रहेका छन् । पक्राउ परेका २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाज, विभिन्न सञ्चा माध्यमबाट सार्वजनिक तथा सिसिटिभीमा कैद भएको भिडियोका आधारमा संलग्नको पहिचान गर्दै पक्राउ गरिएको बताउनुभयो । त्यसक्रममा कतिपय फरार रहेको उनीहरुलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली गठन गरेर खोजी कार्य भइरहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “पहिलो चरणमा सुरक्षा निकाय तथा अदालतका भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न केहीलाई पहिचान गरेर पक्राउ गरेका छौ । अन्य सरकारी कार्यालयसँगै निजी भवनमा तोडफोड र आगजनी गर्नेको पनि पहिचान गर्दै खोजी गर्ने काम भइरहेको छ ।” उहाँले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पतीसँगै निजी सम्पतीमा तोडफोड, आगजनी र लुटपाट भएपनि अहिलेसम्म कसैकातर्फबाट उजुरी भने नपरेको बताउनुभयो ।