यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर ४ गते । हिमाली सांस्कृतिक पहिचान बोकेको मनाङको प्राचीन भ्राका गुम्बा संरक्षणमा हाल स्थानीय समुदाय तथा निकायहरूको सक्रियता बढेको छ । करिब १२ सय वर्ष पुरानो मानिन्ने यो गुम्बा धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले मनाङ क्षेत्रकै महत्त्वपूर्ण धरोहरका रूपमा प्रतिष्ठित छ ।
सातौं आठौं शताब्दीतिरको मानिएको यो गुम्बाको पालिकाले मात्रै संरक्षण गर्न नसकेको मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बताउनुभयो । पालिकाको बजेटले संरक्षण गर्न नपुग्ने उहाँको भनाइ छ । समुद्र सतहबाट करिब ३,४४८ मिटर उचाइमा अवस्थित गुम्बा भ्राका गाउँको पहाडको काखमा अवस्थित छ । प्राचीन काठका संरचना, परम्परागत तिब्बती शैलीका भित्तचित्र, पुराना पवित्र हस्तलिपिहरू र गुम्बाभित्रका मूर्तिहरू यसको सम्पदात्मक मूल्यका प्रमुख आधार मानिन्छन् । उपाध्यक्ष गुरुङका अनुसार गुम्बाको ऐतिहासिक संरचना मध्यकालीन निस्याङ तथा नार–फु क्षेत्रका बौद्ध समुदायले निर्माण गरेको मानिन्छ ।
संरक्षण कार्यमा स्थानीय सरकारको जोड
मनाङ ङिस्याङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ र गुम्बा व्यवस्थापन समितिले संरक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुम्बाका पुराना काठका थाम, भित्तामा रहेका भित्तचित्र, पूजामा प्रयोग हुने ऐतिहासिक सामग्री तथा छाना सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले पुरातात्विक महत्त्व बोकेको सम्पदा भएकाले माथिबाटै यसको संरक्षणमा बजेट आउनुपर्नेमा जोड दिनुभयो । प्रमुख भुजेलले सानातिना मर्मतसम्भार कार्यका लागि अनुरोध आएमा तुरुन्तै जनप्रतिनिधि तथा गुम्बा व्यवस्थापन समितिसँग समन्वय गरी संरक्षण गरिने बताउनुभयो ।
मनाङमा पर्यटकीय चहलपहल बढेसँगै गुम्बामा पर्यटक प्रवेशमा पनि वृद्धि भएको छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि जथाभावी हिँडडुल, चित्र तथा सामग्रीमा छुन खोज्ने प्रवृत्तिले सम्पदा जोखिममा परेको जनाइएको छ । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका वडाध्यक्ष कर्मसेराप वङक्षु लामाले भन्नुभयो, “गुम्बा हाम्रो सांस्कृतिक अस्तित्वको मूल पहिचान हो । संरक्षण गर्न ढिला भयो भने धेरै इतिहास हराउने खतरा छ । स्थानीय, सरकार र संरक्षण निकायले समन्वय गरेर दीर्घकालीन योजना अघि बढाउन जरुरी छ ।”
पर्यटन विकाससँगै चुनौती
अन्नपूर्ण पदयात्रा मार्ग हुँदै आउने विदेशी तथा आन्तरिक पर्यटकका लागि भ्राका गुम्बा प्रमुख दृश्यबिन्दुका रूपमा परिचित छ । एक्यापको तथ्याङ्कअनुसार मनाङ क्षेत्रमा दैनिक रूपमा विदेशी पर्यटकको आगमन क्रमशः बढिरहेको छ । तर, उचाइका कारण मौसम अचानक बदलिने, भूस्खलनको जोखिम, बाटो मर्मतको अभाव तथा स्थानीय बस्तीमा पूर्वाधारको कमीले पर्यटक सुरक्षा तथा व्यवस्थापन चुनौती बनेको छ । वडाध्यक्ष लामाका अनुसार संरचनागत नोक्सानी रोक्न गुम्बाभित्रका कलाकृतिहरूको वैज्ञानिक सूचीकरण तथा नियमित समीक्षा आवश्यक रूपमा देखिएको छ ।
स्थानीय बौद्ध भिक्षु र समुदायका ज्येष्ठ नागरिकले गुम्बालाई धार्मिक आस्था मात्र नभई ‘जीवित सम्पदा’का रूपमा हेर्नुपर्ने धारणा राखेका छन् । उनीहरूको भनाइमा पर्यटनका नाममा अत्यधिक व्यवसायिकता बढे गुम्बाको मौलिकता, सामाजिक संस्कार र धार्मिक मर्यादामा असर पर्न सक्छ । भिक्षु कर्म छिरिङले भन्नुभयो, “गुम्बा हेर्न आउने सबैलाई स्वागत छ । तर यहाँको संस्कार–परम्परा बडो संवेदनशील हुन्छ । पर्यटकका लागि आचारसंहिता पालन अनिवार्य छ ।”
गाउँपालिका र एक्यापले संयुक्त रूपमा गुम्बा वरिपरि पर्यटक व्यवस्थापन कक्ष, सूचना केन्द्र र सुरक्षित प्रवेशमार्ग निर्माण योजना अघि सारेका छन् । गुम्बाभित्रका पुराना मूर्ति, ग्रन्थ र भित्तचित्रलाई सूचीकरण गरी संरक्षण सहजीकरण गर्ने दाबी पनि गरिएको छ । मनाङमा पर्यटन विस्तार र धार्मिक सम्पदाको संरक्षणबिच सन्तुलन कायम गर्ने प्रयासले भ्राका गुम्बा अझ व्यवस्थित र सुरक्षित सांस्कृतिक धरोहरका रूपमा अघि बढ्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।