सुजन बज्राचार्य
सङ्खुवासभा, मङ्सिर ४ गते । मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्ला प्रहरीका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली खटिएको थियो । उक्त टोलीले बुधबार हेली एभरेष्टको सहयोगमा बेस क्याम्प नजिकैबाट कार्कीको शव उद्धार गरेको थियो ।
प्रारम्भिक अनुमान अनुसार कार्कीलाई लेक लागेर स्वास्थ्य जटिलता उत्पन्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्धारपछि कार्कीको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट पठाइएको छ ।
मकालु क्षेत्रमा पछिल्ला दिनहरूमा पर्यटक तथा पदयात्रीहरूको आवागमन बढेसँगै यस्ता आकस्मिक घटनाले सुरक्षात्मक सावधानीमा अझ ध्यान दिन आवश्यक रहेको प्रहरी प्रमुख डिएसपी मैनालीले बताउनुभयो ।