• ४ मंसिर २०८२, बिहिबार

११ औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा

blog

म्याराथनको तयारी र पुरस्कार बारे जानकारी गराउँदै आयोजक टोली । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, मङ्सिर ४ गते ।
यही मङ्सिर ६ गते आयोजना हुने ११ औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा भएको छ । पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराउँदै आयोजकले यस पटकको पुरस्कार राशीको समेत घोषणा गरेका छन् ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले यसपटक नेपालगन्ज म्याराथको विजेताले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउने जनाउँदै महिला हाफ म्याराथनको विजेताले नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने जानकारी गराउनुभयो ।

उहाँका अनुसार पुरुष खुल्ला म्याराथन (४२.१९५ किमी) तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत गरिनेछ । शीर्ष दस स्थानसम्म हासिल गर्नेलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ ।

साथै म्याराथन दौड पूरा गर्ने सबै धावकलाई नगद पाँच हजार, पदक र प्रमाणपत्र प्रदान गरी प्रोत्साहज गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो । भेट्रान ४५ वर्षमाथिका शीर्ष तीनलाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ ।

त्यसैगरी, महिला हाफ म्याराथन (२१ किमी) तर्फ दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार रुपियाँ नगद प्रदान गरिनेछ ।

आयोजकका अनुसार १० किमी खुला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ भने पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवम् छात्रा दौडका शीर्ष तीन जनालाई नगद पाँच हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र गरिनेछ ।

यसैगरी, ह्वीलचेयर तर्फका तीन जनालाई पनि पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ प्रदान गरिनेछ । किड्स रनका सम्पूर्णलाई पदकले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ । उक्त सरप्राइज प्याकेज भने म्याराथनपछि घोषणा गरिनेछ ।

यसपटक एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने जनाउँदै स्वस्थ समाज निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै एक विद्यालयलाई सो ट्रफीबाट सम्मान गरिने जनाइएको छ ।

नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रुपमा सहभागि हुन महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आउने कार्यक्रम रहेको आयोजक टीमका सदस्य जनक नेपालले बताउनुभयो ।

उहाँले कनक्लेवमा महानगर एक सपना : उदाउँदो र पुरानो सहर जोड्ने बहस, खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपाल : अन्योल र अवसर, नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधार : प्रविधि वरदान कि अभिसाप विषयमा बहस र छलफल गरिने जनाउनुभयो ।