हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर ३ गते । जन्मजात आँखा नदेख्ने ताँजाकोट गाउँपालिका–२ का मीलन नेपालीलाई अन्धोपनले देउडा गाउन कुनै छेकबार लगाउन सकेको छैन । मिठो स्वरका धनी नेपालीले पहिले वनपाखामा देउडा गाउने गर्दै आएको भए पनि पछिल्लो समयमा भने ठुला कार्यक्रमका मञ्चमै गाउन थाल्नुभएको हो ।
जन्मेदेखि नै आँखा नदेख्ने समस्याले पीडित हुँदै आउनुभएका नेपालीको हाल देउडा गाउने कार्य कमाइको माध्यम बनेको छ । देउडा गीत गाएबापत उहाँले खास त्यस्तो शुल्क लिने गर्नुभएको त छैन तर अन्धो मान्छेले गाएको देखेर स्वस्फूर्त रूपमा उपहार स्वरूप रकम दिने धेरै छन् । एक दिनमा तीन हजार रुपियाँसम्म उहाँको कमाइ हुने गर्छ । मिठो स्वर भएको कारण कार्यक्रम तथा सभा समारोहमा नेपालीलाई देउडा गाउनका लागि अनुरोधसमेत आउने गरेको छ ।
उहाँले देउडाका विभिन्न भाका र ठाडी भाकामा राम्ररी गाउने गर्नु हुन्छ । पचपन्न वर्ष उमेर पुगेका नेपालीले आफ्नो गाउँपालिकादेखि सदरमुकाम सिमकोटसम्म पुगेर पाँच सयभन्दा बढी गीत गाइसक्नुभएको छ । उहाँलाई एक ठाउँबाट अर्को ठाउँ पुग्न एक जना सहयोगी भने चाहिन्छ ।