गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व मञ्चमा जलवायु परिवर्तनका कारण नेपालका हिमाल अनवरत रूपमा पग्लँदै जाँदा नेपालीले त्यसको तीव्र असर खेप्नु परेको मुद्दा उठाउनुभएको छ । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्का पक्षराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप ३०) को मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सोमबार र मङ्गलबार विभिन्न सत्रमा धारणा राख्दै उहाँले दिनप्रति दिन नेपालमा जलवायु परिवर्तनको असर झन् तीव्र बनेको बताउनुभयो ।
नेपाल विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न प्रतिबद्ध रहेको औँल्याउँदै उहाँले सन् २०४५ भित्रको लक्ष्य प्राप्त गर्न लागि परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि नेपालले वन संरक्षणसँगै नवीकरणीय ऊर्जामा ध्यान केन्द्रित गरेको छ, साथै जलवायु परिवर्तनको असर अनुकूलन र न्यूनीकरणका लागि पनि राष्ट्रियस्तरमा तयारी गरेको छ ।” सो क्रममा उहाँले नेपालको हालको स्थितिका बारेमा व्याख्या गर्दै नेपालमा जेनजी आन्दोलनपछि स्थापित सरकारले जनचाहनाको कदर गरेर सुशासन तथा पारदर्शितामा जोड दिएको जानकारी गराउनुभयो । युवा पुस्तालाई हरित विकास र जलवायु परिवर्तनको असर न्यूनीकरणमा आकर्षित गर्न उनीहरूको सिप, क्षमतालाई बढाउने गरी सहयोगको पनि अपेक्षा गरेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालले जलवायु परिवर्तनको अनेक प्रकोपबाट बाहिर निस्कनका लागि अन्तर्राष्ट्रिय सहयोगका साथै नवप्रविधिको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले नेपालको हिमाल संरक्षणको एजेन्डामा जोड दिँदै त्यो कार्य नेपालका लागि मात्र नभई विश्वकै लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री परियारले नेपाललाई जलवायु परिवर्तनका कारण बेहोरिरहेको हानिनोक्सानीसँग जुध्न सहयोगको अपिल पनि गर्नुभयो ।
जलवायु परिवर्तन न्यूनीकरणतर्फ कस्ता कदम आवश्यक छ भन्ने सचेतना वृद्धिका लागि पनि आवश्यक प्राविधिक ज्ञान तथा तालिमका लागि पनि नेपाललाई सहयोगको आवश्यकता रहेको उहाँले औँल्याउनुभएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो ।
द्विपक्षीय भेट
सम्मेलनको क्रममा उहाँले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा भाग लिँदै हानिनोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चेख डिओङसँग भेटवार्ता गर्नुभयो । सो क्रममा उपयुक्त राष्ट्रिय परियोजनाहरूका लागि हानि र क्षति कोषबाट नेपाललाई वित्तपोषणमा पहुँच दिने अवसरका बारेमा धारणा आदानप्रदान गर्नुभयो । त्यस्तै मङ्गलबार नै मन्त्री परियारले भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री महामहिम भूपेन्द्र यादवसँग भेट गर्नुभयो ।
नेपालको छुट्टै कार्यक्रम
मङ्गलबार नै नेपालले सगरमाथादेखि बेलेमसम्म जलवायु कार्यको कार्यान्वयन शीर्षकको साइड इभेन्ट आयोजना ग¥यो । कार्यक्रममा सगरमाथा संवादका निष्कर्षको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गरिएको थियो ।