• २ मंसिर २०८२, मङ्गलबार

कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

blog

बोगोटा, मङ्सिर २ गते । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । 

यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिग सेनाको कारबाहीमा गोलीको सिकार भएको बताइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गर्नु भएको थियो । कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ ।

ती बालबालिकाको उमेर सार्वजनिक गरिएको छैन । यसैबिच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण-मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

सेना र अभियोजकले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भन्नुभयो, “सबै नाबालिग अपराधी समूहद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सिधैँ वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।”

कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।

राष्ट्रपति पेट्रोले सैनिकको ज्यान जोगाउनका लागि आक्रमणको आदेश दिइएको बताउनुभएको छ । उहाँले बालबालिकाको ‘दुःखद क्षति’ प्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ र ‘मैले यो पीडा आफ्नै अन्तस्करणमा बोकेको छु’ भन्दै पीडित आमासँग क्षमायाचना गर्नु भएको छ । तर उहाँले २०१६ को शान्ति सम्झौतापछि निरस्त्रीकरण गर्न अस्वीकार गरी पुनः सक्रिय भएका फार्कका असन्तुष्ट समूहलाई लक्षित सैन्य कार्यवाही रोक्न लोकपालको कार्यालयले गरेको अनुरोध भने अस्वीकार गर्नु भएको छ ।

अभियोजनकर्ताका अनुसार सन् २०१९ देखि २०२३ सम्म विभिन्न सशस्त्र समूहले एक हजार १०० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । सन् १९९६ देखि २०१६ सम्म यो सङ्ख्या २३ हजार ८०० पुगेको थियो, जसले कोलम्बियामा दशौँ वर्षदेखि जारी हिंसा र बालअधिकार सङ्कटको गम्भीरता झनै उजागर गर्दछ । रासस/एएफपी