• २९ कात्तिक २०८२, शनिबार

कर्णालीमा नयाँ थपिएका मतदातामा अधिकांश युवा

blog

सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आएका युवाहरु । तस्बिर : ललित बसेल

ललित बसेल
सुर्खेत, कात्तिक २९ गते ।
सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचनका लागि खोलेको मतदाता नामावली दर्ताको अहिले धमाधम भइरहेको । नामावली दर्ता गराएका मध्ये धेरैजसो युवा उमेर समूहका रहेको पाइएको छ । कर्णालीका विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा ज्येष्ठ नागरिक लगायत अन्यको तुलनामा युवायुवतीहरुको भीड लागेको छ ।

सुर्खेतमा ९० प्रतिशभन्दा धेरै युवा
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता गराउन आएका मध्ये धेरैजसो युवायुवती छन् । कार्यालयका सूचना अधिकारी, शाखा अधिकृत नन्दराम चौलागाईंले कार्यालयमा नामदर्ता गराउन आएका मध्ये ९० देखि ९५ प्रतिशतसम्म युवायुवतीहरु रहेको बताउनुभयो । उहाँले बिहीबारसम्म दैनिक चार सयभन्दा बढिको नाम दर्ता गराएको जानकारी दिँदै शुक्रबार राष्ट्रिय परिचयको आधारमा पनि अनलाइनबाट नाम दर्ता गर्न सकिने भनेपछि सर्भर डाउन भएर काममा ढिलाइ भएको उल्लेख गर्नुभयो ।

नाम दर्ता सुरु भएदेखि बिहीबार बेलुकासम्म कार्यालयमा दुई हजार ४४ जना नयाँ मतदाताको नाम दर्ता भएको छ । यसमा ९० प्रतिशभन्दा बढि युवायुवतीहरु भएको जानकारी सूचना अधिकारी चौलागाईंले बताउनुभयो । यद्यपि अहिलेको नाम दर्ताको काममा पुराना राजनीतिक दलहरुले चासो नदिएको पाइएको अनुभव उहाँले गर्नुभयो । पुराना दलहरुका कुनैपनि नेताहरुले मतदाता नाम दर्ता गर्नुपर्छ भनेर आह्वान नगरेको, नाम दर्ता गराउन नपठाएको पाइएको हुँदा पुराना दलहरुले चासो नदिएको उहाँको भनाइ छ ।

प्रदेश निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता गराउन पाँच जना जनशक्ति छन् । सर्वर डाउन भए पनि काममा ढिलाई भएको छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा एक लाख १९ हजार ३८७ पुरुष र एक लाख २५ हजार २८७ महिला गरी कुल दुई लाख ४४ हजार ६७६ मतदाता रहेका थिए ।        


हुम्ला थपिए नयाँ ९७५ मतदाता
हिमाली जिल्ला हुम्लामा नयाँ ९७५ मतदाताहरु थपिएका छन् । पछिल्लो समय मतदाता नामावली दर्ताका लागि खुलेको समययता सो मतदाताहरु थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले असोज ९ गते अगाडि र त्यसपछि गरी मतदाता नामावली दर्ता गर्ने कार्य सुरु भएकोमा कात्तिक २५ गतेसम्म ९७५ मतदाता थपिएको बताउनुभयो ।

यसमा अधिकांश युवाहरुले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ थियो । हाल थपिएको सहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । हाल नयाँ नाम दर्ता गराउनेमा एक जना ७४ वर्षको बृद्धा देखिएको र अन्य सवै १८ देखि ३० वर्ष आसपासका युवाहरु रहेका छन् ।

यसअघि नाम दर्ताका लागि यस किसिमको युवाहरुले चासो लिएको नपाइएको भए पनि अहिले भने चासो बढेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । हाल पनि बिदाको दिन बाहेक दैनिक चार/पाँच जना मतदाता कार्यालयमा आएर मतदाता नामावलीमा नाम र्दाा गराइरहेका छन् । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गराउन पाउने व्यवस्था निर्वाचन आयोग गरेको छ । त्यसमा अन्य जिल्लामा इन्ट्री भएकाहरुको पनि विवरण कार्यालयमा उपलब्ध हुनेछ । त्यसपछि मात्रै जिल्लाको मतदाता सङ्ख्या एकिन हुनेछ । मतदाता नामावली दर्ता कार्यका लागि जिल्ला सबै राजनीतिक दलहरुले सहयोग गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जुम्लामा आठ सयभन्दा बढि मतदाता थपिए 
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली भर्ने मतदाताहरु सक्रिय रुपमा आइरहेका छन् । जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी चौलागाई आचार्यका अनुसार अहिले धमाधम मतदाता नामावली भर्नका लागि मानिसहरु आइरहेका छ । उहाँले कात्तिक अन्तिमसम्म एक हजार व्यक्तिले मतदाता नामावली दर्ता गरिसकेको बताउनुभयो । जुम्लामा २०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको मतदाता सङ्ख्या ६८ हजार ६३८ थियो । जसमा महिला ३२ हजार नौ सय ९३८ र पुरुष ३५ हजार सात सय थियो ।

नयाँ मतदाता ४५३ जना
दैलेख जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिव पाँच सय मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखमा विगतका निर्वाचनभन्दा यो पटक मतदाता नामावली सङ्कलन उत्साह कम देखिएका कारण न्यून नाम दर्ता भएको छ । जिल्लामा नागरिकको उत्साहजनक सहभागिता नदेखिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्युटर अपरेटर मदन लामिछानेले जानकारी दिनुभयो । उहाँले सुरु सुरुको दिनमा सहभागीहरूले खासै नभएको बताउनुभयो । उहाँले सुरुवाती दिनमा करिब पुरुष पाँच र महिला चार गरी नौ जनाले दिनमा नामावलीमा नाम दर्ता गरेको स्मरण गर्नुभयो । सुरु सुरुमा राजनीतिक दलहरू मतदाता दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको सङ्ख्या कम देखिएको भन्दै पछिल्लो समयमा सबै राजीनिक दलको सहयोगले दैनिक ५५ जनादेखि ६०जनासम्म नामावलीमा नाम दर्ता गर्न आउने गरेको जानकारी उहाँले दिनुभयो ।


सल्यानमा एक हजार नाघ्यो
सल्यानमा एक हजारभन्दा बढि नयाँ मतदाता थपिएका छन् । गत असोजदेखि सुरु भएको दर्ता अद्यावधिक कार्यअन्तर्गत हालसम्म जम्मा एक हजार ५० जनाले आफ्नो नामावली अद्यावधिक तथा नया दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । यसबिचमा ५२ जनाले नामावली सारेर जिल्ला बाहिर गएको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

बुधबारसम्म नयाँ थपिएकासहित र नामसारी गरेर जिल्ला बाहिर गएका बाहेक जम्मा मतदाता एक लाख ६६ हजार ६५ जना रहेका छन् । उहाँका अनुसार गत असोज अघि जिल्लामा एक लाख ६५ हजार ६७ जना मतदाता रहेका थिए । “नामावलीमा नाम दर्ता गर्ने अधिकांश जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका १६ देखि २२ बर्ष उमेर समुहका रहनुभएको छ, कतिपय छुटेका अन्य नागरिक पनि हुनुहुन्छ’’, भण्डारीले भन्नुभयो ।

सल्यानमा राजनीतिक दलहरुले अभियानकै रुपमा वा सार्वजनिक आह्वान गरेर मतदाता नामावली संकलनमा सक्रियता भने देखाएका छैनन । “त्यति धेरै चासो छैन । असहयोग छैन, मौन समर्थन छ । स्थानीय तहको चुनावको बेला अलि दलहरुको चासो देखिन्छ । यतिखेर छैन,’’ जिल्ला निर्वाचन अधिकारी भण्डारीले भन्नुभयो । यहि कात्तिक ३० गतेसम्म नयाँ दर्ता एवम् अद्यावधिक कार्य चल्ने कार्यालयले जनाएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा सल्यानमा स्थायी मतदाता एक लाख ५७ हजार ७०१ जना र अस्थायी मतदाता दुई हजार ६६१ जना रहेका थिए । जसमा एक हजार २६५ जना अस्थायी मतदाता र ८३ हजार ४७ जना स्थायी मतदाता गरेर जम्मा ८४ हजार ३१२ मत खसेको थियो । मतदाता नामावलीमा नयाँ नाम दर्ता र अद्यावधिकबारे जिल्लाका विभिन्न कार्यक्रमको अवसरमा र सञ्चार माध्यम, अन्य माध्यमबाट पनि प्रचारप्रसार कार्य चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुकुमपश्चिमका प्रमुख मोहनलाल केसीका अनुसार पछिको अवधिमा ८७२ जनाले मतदाता नामावली दर्ता गराएका छन् । मतदाता नामावली दर्ता गर्नेहरू युवा र ज्येष्ठ नागरिकहरु बढि रहेका छन् । सर्भरमा समस्या देखिँदा कार्यालय समय अघि र पछि समेत सेवा दिने व्यवस्था मिलाइएको उहाँले जनाउनुभयो । यस अघि एक लाख चार हजार २३९ मतदाता कायम भएको तथ्याङ्क निर्वाचन कार्यालयमा रहेको छभने शुक्रबार दिउँसोसम्म ८७२ जना मतदाता थपिएका छन् । जसमध्य ५४५ जना पुरुष र ३२७ जना महिला रहेका छन् ।

३० वर्ष मुनिका धेरै
मुगुमा मतदाता नामावली दर्ता गर्नेमा धेरैजसो ३० वर्ष मुनिका रहेका छन् । अहिले नाम दर्ता गराउने काम धमाधम भइरहेको छ भने हालसम्म ३२४ जना नयाँ मतदाताहरु थपिएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । निर्वाचन अधिकारी धनकृष्ण बडुवालले धेरैजसो ३० वर्ष मुनिका युवायुवतीहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनुभयो । यद्यपि राजनीतिक दलहरुबाट सहयोग नपाएको गुनासो उहाँले गर्नुभयो । चार वटा स्थानीय तह रहेको मुगुमा छाँयानाथ रारा नगरपालिका र सोरु गाउँपालिकाबाट कम आएको र धेरैजसो मुगुमकार्मारोङ गाउँपालिका र खच्याड गाउँपालिकाबाट आएको जानकारी उहाँले दिनुभयो । पुराना राजनीतिक दलहरुले मतदाता नामावली दर्तामा सहयोग नगरेको उहाँको भनाइ छ । 

(सुर्खेतबाट ललित बसेल, हुम्लाबाट राजन रावत, जुम्लाबाट नेत्र शाही, दैलेखबाट यामराज बिष्ट, सल्यानबाट शङ्कर केसी, रुकुम पश्चिमबाट राजु लामिछाने र मुगुबाट हरिकृष्ण ऐडीको सहयोगमा)