• २९ कात्तिक २०८२, शनिबार

पुस्तकप्रेमीको सभ्यता

blog

  • हाम्रा पुर्खाहरूले हामीलाई सुम्पेर गएका ज्ञान, सिप, अनुभव र संस्कार हाम्रा अमूल्य निधि हुन् । तिनै ज्ञान, अनुभव सिप र संस्कार बौद्धिक सङ्ग्रहालय हुन् । 
  • सिकाइबिनाको जिन्दगी सार्थक र सफल बन्न सक्दैन । मानिस स्वभावैले एकछिन पनि केही नगरी बस्न नसक्ने प्राणी हो । उसको समय नै जीवन हो ।
  • देशको भौगोलिक, ऐतिहासिक र कानुनी पक्षको बारेमा नयाँ र भावी पुस्तालाई सुसूचित गर्ने लोकप्रिय, भरपर्दो र सर्वसुलभ उपहार पनि पुस्तक नै हो ।


भनिन्छ, ‘राम्रा साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छन्’ । मानिस खुसी बाँडेर सर्वदा खुसी र सुखी रहन सक्छ । यसका लागि आफूमा निहित बुद्धि र विवेकको उच्चतम प्रयोग आवश्यक हुन्छ । बुद्धि र विवेकको समुचित प्रयोग गर्ने क्षमताको विकास शिक्षाले गर्छ । अध्ययनका लागि पुस्तक एउटा भरपर्दो साधन हो । पूर्वीय दार्शनिक वेदव्यास, गौतम बुद्ध, पाणिनी, कौटिल्य, कन्फ्युसियस आदिले चिन्तन, मनन र अध्ययनको महत्व दर्शाएका छन् । शास्त्रमा लेखिएको छ ‘विद्या धनं सर्व धनं प्रधानम्’ । पाश्चात्य विचारकमा मार्कस सिसेरोको भनाइ स्मरणीय छ, ‘पुस्तकबिनाको घर आत्माबिनाको शरीर जस्तै हुन्छ’ ।

पुस्तकालयलाई प्रयोजनको हिसाबले बुझ्न आवश्यक छ । पुस्तकालय अब किताबको घर भन्ने अर्थमा सीमित रहेन । यसलाई सूचना केन्द्र, ज्ञान केन्द्र, वाचनालय, सिकाइ केन्द्र, अध्ययन केन्द्र, पढ्ने घर, ज्ञानकुञ्ज, मिलन केन्द्र, सूचना तथा सञ्चारकक्ष आदि विभिन्न नामले बुझ्न सकिन्छ । नाम जे जे भए पनि उद्देश्य र काम पढ्नु, सिक्नु र सम्भव भएसम्म सिकेको कु्रा प्रयोगमा ल्याउनु भन्ने हो । हाम्रा पुर्खाहरूले हामीलाई सुम्पेर गएका ज्ञान, सिप, अनुभव र संस्कार हाम्रा अमूल्य निधि हुन् । तिनै ज्ञान, अनुभव सिप र संस्कार बौद्धिक सङ्ग्रहालय हुन् । ती बौद्धिक सम्पत्ति नै पुस्तकमा प्रकाशित हुन्छन् । ती पुस्तकको सङ्ग्रहलाई पुस्तकालय भन्ने गरिन्छ । पूर्वीय वाङ्मयमा पुस्तकको लेखन, प्रकाशन, सङ्कलन, व्यवस्थापन र प्रयोगको विशेष महत्व थियो र अद्यापि छ । सुरुमा ऐतिहासिक र धार्मिक पुस्तक लेखेर र पछि छपाइ गरेर बिक्री वितरण हुन थाल्यो । यसबाट पढ्ने र लेख्ने परम्परा स्थापित हुन पुग्यो । पछि मानिसका मनमा पुस्तक मोह बढ्न थाल्यो र समाजमा पुस्तकप्रेमीको सङ्ख्या बढ्दै गयो । घर घरमा, टोलटोलमा, मठमन्दिर, विद्यालयमा पुस्तकालय खुल्न थाले । 

पुस्तकालयको आवश्यकता 

सभ्य समाजमा पुस्तकालयको ठुलो महत्व छ । यो समयको सदुपयोग गर्ने राम्रो थलो हो । पुस्तकालयबाट जीवनमा आवश्यक पर्ने र मौकामा काम दिने अनेक ज्ञान र सिप आर्जन तथा वृद्धिमा सहयोग पु¥याउँछ । कृषि, उद्योग तथा अन्य विभिन्न पेसा, व्यवसायमा सुधार गर्छ । यसले नियमित तथा जीवन पर्यन्त सिकाइको अवसर सिर्जना गर्दै साक्षरता वृद्धि गर्न टेवा दिन्छ । सामाजिक प्रतिष्ठा बढाउन र मौलिक संस्कृतिको संवर्धन, प्रवर्धन गर्न र कला, साहित्य सिर्जनामा पुस्तकालयको योगदान महत्वपूर्ण रहेको छ ।

पुस्तकालय कहाँ कहाँ आवश्यक 

जहाँ मानिसको जीवन रहन्छ, त्यहाँ नयाँ कुरा सिक्ने इच्छा हुन्छ । सिकाइबिनाको जिन्दगी सार्थक र सफल बन्न सक्दैन । मानिस स्वभावैले एकछिन पनि केही नगरी बस्न नसक्ने प्राणी हो । उसको समय नै जीवन हो । समयको सदुपयोग गर्नु भनेको जीवनको मूल्य बोध गर्नु हो । यो दृष्टिकोणबाट हेर्दा नागरिकलाई सेवा दिन खडा भएका देशका तीन वटै सरकारका मातहतमा रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी निकायले आफ्ना सेवाग्राही र कर्मचारीको सहज पहुँच हुने गरी कार्यालयमा नै अध्ययन कक्ष बनाउन आवश्यक छ । जहाँ मानिसको नियमित उपस्थिति रहन्छ, ती स्थानमा स्तरयुक्त पुस्तकालय हुनु पर्छ । 

क. घर घरमा पुस्तकालय

घर पहिलो पाठशाला मानिन्छ । हामी धेरै कुरा घरबाटै सिक्न र सिकाउन सक्छौँ । घरमा एकै उमेर, अवस्था र क्षमताका मानिस पक्कै पनि हुँदैनन् । पढ्ने कुरा पनि उस्तै हुँदैनन् । घरका सबैले वर्षमा दुई चार वटा किताब किन्ने, पढ्ने र तिनै किताबलाई एकै ठाउँमा व्यवस्थित गरेर राख्ने त भयो नि । घरमा सानो पुस्तकालय हुनु सामाजिक मर्यादाको विषय बन्न सक्छ । अभिभावक पठनशील भए केटाकेटी अध्ययनशील बन्छन् ।

ख. टोल टोलमा पुस्तकालय

सहर र गाउँ, टोलमा रहेका महिलाका समूह सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । ती संस्थामा आफ्ना टोलबासी र समूहका सदस्यका परिवारको सुविधाका लागि उमेर, पेसा र मानव विकास आदि विषयका पाठ्यवस्तु र सूचना तथा प्रविधिसहितको पुस्तकालय स्थापना गर्नु पर्छ । बालक, युवा र प्रौढ नागरिकलाई दैनिक सेवा प्रदान गर्ने यी संस्थामा अध्ययन कक्षको व्यवस्था हुन आवश्यक छ । सेवा लिन पुगेका र कुपन लिएर पालो पर्खिरहेका सेवाग्राही कोही निदाइरहेका, कोही मोबाइलमा झुम्मिरहेका हुन्छन् । यदि त्यहाँ उपयुक्त पाठ्यसामग्री उपलब्ध भइदिएको खण्डमा पुस्तक, पत्रपत्रिका पढेर समयको सदुपयोग गर्न सक्छन् । 

ग. महाविद्यालय र धार्मिक स्थलमा पुस्तकालय 

देशको अध्ययनशील जनसङ्ख्या विद्यार्थी हुन् । उनीहरू मुलुकको भाग्य निर्माता हुन् । उनीहरूलाई असल पुस्तक पढ्न प्रेरित गर्नु पर्छ । यसका लागि देशभरका सबै विद्यालय, महाविद्यालयमा सबै विद्यार्थीले अवसर पाउने गरी आधुनिक र सुविधायुक्त पुस्तकालयको व्यवस्था हुनु पर्छ । मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्च, अन्य सम्प्रदायका तीर्थस्थल जहाँ भक्तजनको नियमित र बाक्लो आउजाउ हुन्छ, ती स्थानमा सोही अनुसारका पुस्तकसहितको पुस्तकालय स्थापना हुनु पर्छ । बालाश्रम, वृद्धाश्रम, मानवसेवा आश्रम, असहाय सहायता केन्द्र, पुनस्र्थापना केन्द्र, सुधारगृह आदि स्थान जहाँ फरक क्षमता, उमेर र रहर भएका मानिस लामो अवधि बस्ने गर्छन्, उनीहरूले मन बहलाउन र सकारात्मक सोच विकास गर्न सान्दर्भिक पुस्तक पढ्ने वातावरण बनाउन सकिन्छ । 

घ. अस्पताल र स्वास्थ्य चौकीमा पुस्तकालय 

बिरामीहरूलाई मनोवैज्ञानिक सहजताका लागि पनि प्रतीक्षालयमा बसेर निःशुल्क रूपमा बिरामीमैत्री पाठ्यवस्तु, पत्रपत्रिका पढ्न पाउने प्रबन्ध गर्नु पर्छ । त्यस्तै बिरामी कुरुवाका लागि पनि बसेर पढ्न पाउने गरी सुविधाजनक पुस्तकालय आवश्यक छ । स्वास्थ्यचौकीमा पनि बिरामी र सहयोगीलाई मानसिक तनाव कम र समयको सदुपयोग हुने गरी वाचनालय वा अध्ययन कक्ष स्थापना गर्नु पर्छ ।

ङ. स्थानीय तहमा पुस्तकालय

जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सरकार र नजिकको अभिभावक स्थानीय तह नै हो । देशका ७५३ वटै स्थानीय तहमा कम्तीमा एक एक वटा नमुना पुस्तकालय स्थापना किन नगर्ने ? स्थानीय तह अन्तर्गत छ वटा महानगरपालिका, एघार वटा उपमहानगरपालिकाका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका छ हजार ७४३ वडामा अत्याधुनिक उपकरणसहितका सुविधासम्पन्न पुस्तकालय स्थापना गरिनु पर्छ । स्थानीय तहले कृषकहरूका लागि कृषि ज्ञान केन्द्र, उद्यमीहरूका लागि सामुदायिक सिप विकास केन्द्र जस्ता सेवाप्रदायक निकायमा पुस्तकालय आवश्यक छ । 

च. प्रहरी कार्यालय र कारागारमा पुस्तकालय 

देशका सबै प्रहरी कार्यालयमा अपराध अनुसन्धानको क्रममा हिरासतमा रहेका बन्दी र कारागारमा मुद्दाको पुर्पक्षका लागि रहेका कैदीबन्दीलाई पढ्न, लेख्न र समकालीन सूचना पाउने मौलिक हकको संवर्धनको मौका दिइनु पर्छ । यसका लागि ती निकायमा सुविधाजनक पुस्तकालय हुनु जरुरी छ । 

छ. कर र भन्सार कार्यालयमा पुस्तकालय

नागरिकहरूको अत्यधिक चाप हुने जिल्ला प्राशासन कार्यालय, कर तथा राजस्व सङ्कलन कार्यालय र भन्सार कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही घण्टौँ कुर्नुपर्ने स्थिति छ । कर तथा भन्सार कार्यालयमा राजस्व बुझाउन जानेहरूको सम्मान र सुविधालाई मध्यनजर राखी आधुनिक पुस्तकालयको व्यवस्था गरिनु पर्छ ।

ज. विमानस्थल र बसपार्कमा पुस्तकालय

हामीलाई थाहा छ देशका आन्तरिक र बाह्य विमानस्थलका यात्रुको धेरै समय खर्च भइरहेको हुन्छ । यो प्रतीक्षावधि घटाउन नसके पनि यात्रुलाई पत्रपत्रिका, उपयोगी पुस्तक निःशुल्क रूपमा पढ्न पाउने अवसर दिनु पर्छ । बसपार्क त्यहाँ पनि यात्रुले त्यत्तिकै लामो समय बिताउनुपर्ने हुन्छ । किरियापुत्री घरहरूमा सुहाउँदा र समसामयिक विषयका पाठ्यसामग्री सुविाजनक पुस्तकालय स्थापना गरिनु पर्छ ।

झ. राजनीतिक दलका कार्यालयमा पुस्तकालय 

स्थापित दर्शन र सिद्धान्तको आधारमा गठन भएका राजनीति दल र तिनका भातृ सङ्गठनको बाक्लो जमघट भइरहने स्थान हुन्, पार्टी कार्यालय । त्यहाँ दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, विज्ञान, संस्कृति र समकालीन साहित्यसम्बन्धी पुस्तक, पत्रपत्रिकाको सङ्ग्रह गर्नु सामाजिक उत्तरदायित्व हो । 

ञ. डुलुवा/घुमन्ते पुस्तकालय 

जहाँ बस्ती छ, बस्तीमा धेरै मानिसको बसोबास छ, ती स्थानमा उपयुक्त हुने पाठ्यवस्तु पु¥याइँ पढ्ने अवसर प्रदान गर्न सकिन्छ । चाडपर्व, मेला, जात्रा तथा स्वास्थ्य शिविर, सभा सम्मेलन, हाटबजार र लामो दुरीमा चल्ने ठुला सवारीसाधनमा, खेतीपातीको मौसम अनुसारका पुस्तकहरू निःशुल्क रूपमा पु¥याइदिनु पर्छ ।

निष्कर्ष

हामी नेपाली सेवालाई कर्तव्य ठान्छौँ । सामाजिक परम्परा अनुसार घर घरमा विभिन्न उत्सव मनाउँछौँ । उदाहरणका लागि, जन्मोत्सव, विवाह उत्सव, बधाई तथा शुभकामना अर्पण गर्ने अवसरमा उपहार दिने सकिन्छ । वैज्ञानिक उपकरण थपेर सूचना तथा सञ्चार प्रविधि जोडेर यसलाई थप प्रभावकारी बनाउन सकिन्छ । नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक हो । एक अर्काका सांस्कृतिक परम्परालाई जान्ने र बुझ्ने सर्वसुलभ माध्यम पुस्तक नै हुन् । देशको भौगोलिक, ऐतिहासिक र कानुनी पक्षको बारेमा नयाँ र भावी पुस्तालाई सुसूचित गर्ने लोकप्रिय, भरपर्दो र सर्वसुलभ उपहार पनि पुस्तक नै हो । यात्रामा निस्कँदा कम्तीमा एउटा राम्रो पुस्तक साथमा राख्दा राम्रो हुन्छ । पुस्तक ऐँचोपैँचो गरेर पनि पठन संस्कार बढाउन सक्छौँ । पुस्तकप्रेमी असभ्य बन्दैनन्, मानवता र प्रकृति विरोधी हुन सक्दैनन् । अतः आजैदेखि जनहृदयमा पुस्तक रहोस् । घर घरमा पुस्तकालयको श्री गणेश होस् ।