• २९ कात्तिक २०८२, शनिबार

बाँसुरीवादनमा पोख्त ढुङ्गेल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । पुर्बेली भाकामा पोख्त ओखलढुङ्गा निवासी राजु ढुङ्गेल नेपाली लोकसङ्गीतका समर्पित गायक हुनुहुन्छ । उहाँले कलात्मक यात्रा प्रारम्भदेखि नै पुर्बेली लोकभाकालाई आधुनिक स्वरूपमा प्रस्तुत गर्ने दृढ सङ्कल्प राख्नुभयो । बाल्यकालमै गीत गाउन सुरु गर्नुभएका ढुङ्गेल बाँसुरी बजाउन पनि त्यत्तिकै पोख्त हुनुहुन्छ । नेपाल टेलिभिजनमा समेत उहाँले बाँसुरी वाद्यवादकका रूपमा काम गर्नुभएको छ । उहाँको स्वर रहेको ‘जोर मादल बज्यो मारुनी भाका’ नामक गीतले राम्रो चर्चा बटुल्यो । उक्त गीतमा उहाँलाई मेलिना राईले स्वर र साथ दिनुभएको थियो । उहाँको प्रेरणाको स्रोत उहाँकै काका वरिष्ठ कलाकार नवीन ढुङ्गेल र अभय ढुङ्गेल हुनुहुन्छ । त्यसलगत्तै ढुङ्गेलको ‘माइतीघर’ नामक गीत सार्वजनिक भयो । जुन गीतले पूर्वी नेपालको पन्चैबाजा संस्कृतिलाई समर्पित गरेको थियो । 

गायक ढुङ्गेलले हाल अमेरिकाको मेरिल्यान्ड राज्यका कलाकारको संस्था इनासको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँको सङ्गीत यात्रा विशेष गरी पूर्वी लोकधुन–मारुनी–पन्चैबाजा–तालभित्र केन्द्रित रहेको छ । गाउँघरका पीडा, प्रवासको वेदना, प्रेम–वियोग, संस्कृतिप्रतिको माया यस्ता भावनात्मक विषयवस्तु उहाँका गीतमा झल्कन्छ । कलात्मक रूपमा ढुङ्गेल शब्द, लय, सङ्गीत, स्वर सबै पक्षमा सक्रिय हुनुहुन्छ । उहाँका अनुसार “म जहाँ भए पनि मेरो पहिचान नेपाली कलाकारकै रूपमा रहिरहन्छ ।”  ढुङ्गेलले अब चाँडै नै श्रोतामाझ नयाँ सिर्जना प्रस्तुत गर्ने योजना रहेको बताउनुभयो ।