• २९ कात्तिक २०८२, शनिबार

परिवर्तनको सन्देश पुर्‍याउन आग्रह

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल (दायाँ) कोरियाको नेपाली राजदूतावासमा । तस्बिर : सञ्चारमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई अनुरोध गर्नुभएको छ । उहाँले नेपालमा धेरैभन्दा धेरै कोरियाली लगानी भित्र्याउने वातावरण बनाउनका लागि भूमिका खेल्न पनि राजदूत तुम्बाहाम्फेलाई आग्रह गर्नुभयो ।

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलले शुक्रबार सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुहुँदै कोरियामा रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको थियो । 

सञ्चारमन्त्री खरेलले नेपालीमैत्री भएर काम गर्न, दुई देशबिचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन राजदूतलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सिधा उडान सञ्चालनका लागि पहल गर्नसमेत राजदूतावासको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोरियामा रोजगारीका लागि गएका नेपालीहरूको मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्या समाधानका लागि पहल गर्न राजदूतावासलाई अनुरोध गर्नुभयो । उहाँले राजदूतावासमा दरबन्दी अनुसार थप जनशक्ति पठाउन पहल गर्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपाल जेनजी आन्दोलनपछि पुनः लयमा फर्किएको, शान्ति र स्थिरता कायम भई निर्वाचनतर्फ उन्मुख भएको सन्देश राजदूतावास र कूटनीतिक नियोगले प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  

मन्त्री खरेलले सिओलमा रहेको नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै राजदूत र कर्मचारीसँग छलफल गर्नुभयो । सो अवसरमा राजदूत डा. तुम्बाहाम्फेले सीमित कर्मचारी, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले नेपालीको हक, अधिकार र समग्र नेपालको हितमा काम गर्न आफूले प्रतिबद्धताका साथ लागेको जिकिर गर्नुभयो ।

यसैबिच सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताउनुभएको छ ।