• २९ कात्तिक २०८२, शनिबार

कांग्रेसमा महाधिवेशनका लागि जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । प्रजातान्त्रिक आन्दोलनका अगुवाले निर्वाचनअगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा शुक्रबार आयोजना गरेको अन्तर्क्रियाका वक्ताले निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् । समाजका निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैँ अग्रमोर्चामा उभिने बताउनुभयो । 

वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेनजी आन्दोलनलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले तत्कालका लागि महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।  वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने उहाँले बताउनुभयो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीभित्र अनुहार मात्र फेरेर नहुने प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताउनुभयो । प्रविधिमा जो अभ्यस्त छैन, त्यसलाई पुरानो पुस्ताका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले विक्रम संवत् २०५२ मा स्थापना भएको समाजले लोकतान्त्रिक विधि र पद्धति आत्मसात् गर्दै अगाडि बढेको बताउनुभयो । समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरूको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताउनुभयो ।

केन्द्रीय सदस्यको दबाब 

यसैबिच नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यले फागुन २१ गतेको निर्वाचन परिणाममुखी बनाउन मङ्सिरभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्न प्रस्ताव गर्नुभएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको ध्यानाकर्षणपत्रमा सभापति शेरबहादुर देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक उद्घाटन गर्दै १५ औँ महाधिवेशन वैधानिक व्यवस्था अनुसार गर्न निर्देशनात्मक मन्तव्य दिनुभएको सन्दर्भमा केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबारे निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ ।