• २८ कात्तिक २०८२, शुक्रबार

एमाले बागलुङ जनप्रर्दशनसँगै प्रतिनिधि छनौटको तयारीमा

blog

जनप्रदर्शन र प्रतिनिधि छनौटबारे सञ्चारकर्मीसँँग कुरा गर्दै एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक २८ गते । नेकपा एमाले जिल्ला कमिटी बागलुङले आसन्न महाधिवेसनको तयारीका लागि काम थालेको छ । वडा, पालिका र जिल्लाबाट प्रतिनिधि छनौट गर्दै महाधिवेसनमा जाने तयारी गरेको हो । त्यससँगै एमालेले हालको परिस्थितिमा आम नागरिक माझ सन्देश लैजान जनप्रर्दशन गर्ने तयारी समेत गरेको छ । 

शुक्रबार पत्रकार सम्मेलन गरेर एमालेले जनप्रर्दशनमार्फत अग्रगामी र प्रगतीशिल निकास खोज्ने अभियान पनि संचालन गर्न लागेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो । त्यसका लागि जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । 

एमालेले भदौ २४ को घटनालाई नियोजित र राष्ट्रिय गौरवका संरचना ध्वस्त बनाएर राज्यको अस्तित्वलाई नै समाप्त पार्न खोजिएको आरोप लगाएको छ । आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनले पनि ती घटनाको वास्तविकता बाहिर ल्याउन पहल गर्ने, आम नागरिकमा राजनीतिक दलको आवश्यकता र औचित्य पुष्टी गर्ने अवसर सिर्जना गर्ने अध्यक्ष केसीले बताउनुभयो । 

एमालेले बागलुङ क्षेत्र नं. १ र २ मा मंसिर १३ गते प्रतिनिधि छनौटको निर्वाचन गर्ने, १५ गतेभित्र केन्द्रमा नामावली पठाउने योजना बनाएको छ । त्यस बाहेक महाधिवेसन लक्षित सुझाव सङ्कलन गरेर सोही आधारमा आधिकारिक धारणा बनाएर जाने लक्ष्य पनि छ । 

कार्यक्रममा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले महाधिवेसन आएको सन्दर्भमा विभिन्न भावना र विचार आउन दिने बताउनुभयो । ‘‘यो बेला फरक फरक विचार आउनुपर्छ, ती भावनालाई नै समेटेर महाधिवेसनमा जाने हो’’ उहाँले भन्नुभयो, ‘‘ती भावनाबाट नै नयाँ नेतृत्व चयन हुनेछ ।’’ सापकोटाले राजनीतिक दलको अस्तित्व, राष्ट्रिय सहमति र सद्भावबाट मात्र राज्य अगाडि बढ्न सक्ने बताउनुभयो ।

यसअघि एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनस्थापनाका लागि महाधिवेसन सहितका गतिविधि अगाडि बढाउने निर्णय गरिसकेको थियो । अध्यक्ष केसीले बैठकका निर्णयबारे जानकारी दिँदै हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई संवैधानिक बाटोमा हिंडाउन एमालेले केन्द्रीय रुपमा संसद पुनस्थापनाको माग अगाडि सारेको बताउनुभयो । जेनजी आन्दोलन पछिको परिस्थितिलाई हेर्दा नवयुवालाई पार्टीमा ल्याउने बैठकले निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।