• २७ कात्तिक २०८२, बिहिबार

इलाका प्रशासन कार्यालयमा टोकन प्रणाली लागू

blog

लक्ष्मी तिमिल्सेना
जमुनाह, कात्तिक २७ गते ।
इलाका प्रशासन कार्यालय कोहलपुरमा टोकन प्रणाली लागू गरिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कार्यालयमा टोकन प्रणाली लागू गरिएको जनाएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा दिन सहज होस् भन्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको हो ।

कार्यालय प्रमुख अन्तिम सिंजालीका अनुसार सेवाग्राहीलाई छिटोछरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली लागू गरिएको हो । कार्यालयमा सेवा लिने सेवाग्राहीहरूको अत्यधिक चाप भएका कारण सेवामा सहजताका लागि टोकन प्रणाली लागू गरिएको कार्यालय प्रमुख सिंजालीको भनाइ छ । उहाँले इलाका प्रशासन कार्यालय कोहलपुरबाट जारी हुने नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकताको सेवामा सेवाग्राहीको अत्यधिक चापका कारण यस्तो प्रणाली लागू गरिएको बताउनुभयो ।

कार्यालयले जारी गरेको सूचना अनुसार टोकनका आधारमा आ–आफ्नो पालोमा सेवा प्रवाह हुनेछ । टोकनको लागि बिहान १० बजेदेखि नाम टिपाउन सकिनेछ । यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले पनि विद्युतीय टोकन प्रणाली लागू गरिसकेको छ ।

जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागू गरिएको हो । पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई दृष्टिगत गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको छ । यसै सन्दर्भमा इलाका प्रशासन कार्यालय कोहलपुरले समेत टोकन प्रणाली लागू गरेको हो ।